भर्जिनिया- अमेरिकाको भर्जिनियामा कार दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। ४ जना नेपाली सवार कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
स्थानीय समयअनुसार २२ नोभेम्बरको मध्यराति १२ बजे भर्जिनियाको च्यान्टिलीस्थित काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक कार दुर्घटनामा परेको नेपाल मदरका सम्पादक रामप्रसाद खनालले युट्युबमा पोस्ट गरेको भिडियोमा भनिएको छ।
मृत्यु हुनेमा रुकुमको आठबिसकोट नगरपालिका-७ का सुरेश केसी र बर्दियाका विवेक सुवेदी हुन्।
कारचालक ३० वर्षीय विजय तामाङ सुरक्षित छन्।
कारमा सवार काठमाडौंका मेहुल श्रेष्ठ घाइते छन्। उनको उपचार भइरहेको पनि छ। प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
कार तीव्र गतिमा रहेको बताइएको छ।
कारचालक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


