म्याग्दी: अवसर र उचित वातावरण भए महिलाले पनि कुशल नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण बनेकी छन् बेनी नगरपालिका–९ नेप्टेचौरकी तारादेवी चोखाल। स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयमा विगत दुई दशकदेखि चोखालले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएकी छन्। विद्यालयको पूर्वविद्यार्थी रहेकी चोखालले २०५० सालदेखि शिक्षण गर्दै आएकी छन् भने २०६४ सालदेखि प्रधानाध्यापकको जिम्मेवारी वहन गर्दै आएकी हुन्।
आधारभूत तहदेखि स्तरवृद्धि भएर माध्यमिक तहसम्मको पठनपाठन हुन थालेपछि स्थानीय बालबालिकालाई गाउँ छाडेर अन्यत्र अध्ययन गर्न जानुपर्ने झन्झट र बाध्यता हटेको छ।
‘आफैंले अक्षर चिनेको विद्यालयमा तीन दशकदेखि जोडिन पाउनुलाई मैले अवसर र कर्तव्यका रूपमा लिएकी छु, समाजको विश्वास र मेरो आत्मविश्वासले विद्यालयलाई नेतृत्व गर्न सक्षम बनाएको हो, घरपरिवारको सकारात्मक सहयोगले पनि विद्यालयको काममा निरन्तर लागिरहन हौसला मिल्ने गरेको छ’, प्रअ चोखालले भनिन्।
विद्यालयसँग आफ्नो पेशा, कर्तव्य, जिम्मेवारी र उत्तरदायित्व जोडिएको उनी बताउँछिन्। विस २०५२ को शिक्षक आयोगमा प्रावि तहको लिखित परीक्षा दिए पनि २०६१ सालमा मात्र नतिजा प्रकाशित भएको र आफू सोही विद्यालयमा पदस्थापना भएको उनले बताइन्।
उनी २०७० सालमा प्रावि द्वितीय तहमा बढुवा भइन्। आफैंले प्रारम्भिक तहको पढाइ सुरु गरेको विद्यालयबाटै आफ्नो शिक्षण पेशा सुरु हुनु, सोही विद्यालयमा नै स्थायी शिक्षकको पदस्थापन हुनु र प्रअको भूमिकामा नेतृत्व सम्हालेकी चोखालको जीवनमा विद्यालयसँग सम्झनलायक संयोग बनेका छन्। उनी प्रअको जिम्मेवारीमा आएपछि २०६८ सालदेखि प्रस्तावित माविको अनुमति लिएर विद्यालयको स्तरवृद्धि भएको थियो।
‘प्रावि तहमा मात्र दरबन्दीका शिक्षक कार्यरत थियौं, बाँकी सबै शिक्षकको तलब सुविधा निजी स्रोतबाट जुटाउनुपर्थ्यो, पछि निमावि र माविमा केही राहत र अनुदानका दरबन्दी थपिएपछि विद्यालयलाई राहत भयो, अहिले पनि दुई जना निजी स्रोतबाट शिक्षक राखेका छौं’, प्रअ चोखालले भनिन्।
समुदायको एकता तथा शिक्षक कर्मचारीको सामूहिकताले विद्यालयको शैक्षिक र भौतिक सुधार सम्भव भएको उनको अनुभूति छ। आफू महिला भएकै कारण विद्यालय असफल हुने त होइन भन्ने सुरुवाती चिन्ता समुदायको रचनात्मक साथ, व्यवस्थापन समितिको कुशल अगुवाइ र शिक्षकहरूको मेहनतले उपलब्धिमा रुपान्तरण गर्न सम्भव भएको चोखालले बताइन्।
‘महिला प्रअ भएकै कारण व्यक्तिगत रूपमा धेरै चुनौतीको सामना गर्नुपर्यो, घरको काम व्यवस्थापन गरेर विद्यालयका लागि अतिरिक्त समय निकाल्नु महिलाका लागि कठिन हुँदोरहेछ, शिक्षणसँगै विद्यालयको कामले दौडधुप धेरै नै गर्नुपर्यो, जेजति विद्यालयका लागि समय लगानी गरें, विद्यालयको भौतिक र शैक्षिक स्वरुपमा आएको परिवर्तनले सन्तुष्टि मिल्ने रहेछ’, उनले भनिन्।
विद्यालयलमा तत्कालीन समयमा निजी स्रोतका शिक्षकलाई मासिक एक लाख ५० हजारदेखि दुई लाखसम्म रकम जुटाउनुपर्ने बाध्यता थियो। अहिले तल्लो तहमा कार्यरत भए पनि माथिल्लो तहमा पनि पठनपाठन गर्ने शिक्षकको सुविधा र निजी स्रोतका शिक्षकलाई गरी ९० हजारसम्म विद्यालयलाई व्ययभार परेको प्रअ चोखाल बताउँछिन्।
विद्यालयले देउसीभैलो, चन्दा सङ्कलन र सामुदायिक वनको सहयोगबाट व्ययभार पूर्ति गर्दै आएको छ। केही वर्ष शिक्षक तलबस्वरुप आर्थिक सहयोग उपलब्ध गराएको स्थानीय गलेश्वर ठूलो सल्लेरी सामुदायिक वनले १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएको छ।
विद्यालयले सहयोगदाता, चन्दादाताबाट प्राप्त हुने रकमलाई समेत कोषमा जम्मा गर्ने गरेको छ। विद्यालयको अक्षयकोषमा देश विदेशमा छरिएका पूर्वविद्यार्थी र शिक्षकले समेत रकम जम्मा गर्दै आएका छन्। कच्ची भवनलाई विस्थापित गरेर पक्की भवन बनेसँगै विद्यालयको स्वरुप फेरिएको छ। गाजा युवा क्लब, तत्कालीन शान्ति मन्त्रालय, जिल्ला विकास समिति, शिक्षा कार्यालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट गरेर विद्यालयमा नयाँ पक्की भवन बनेसँगै अधिकांश विद्यालयका विद्यार्थीले पक्की भवनमा पठनपाठन गर्ने अवसर पाएका छन्।
विद्यालयमा अझै दुई कक्षा कच्ची र जीर्ण भवनबाट काम गर्ने गरिएकाले सम्बन्धित निकायमा निरन्तर भवन माग गर्ने गरिएको प्रअ चोखाल बताउँछिन्। विद्यालयले शिक्षण सिकाइमा पनि सूचना प्रविधिको प्रयोग गर्दै आएको छ।
लामो समय हुने बिदाको समयमा शिक्षकहरूले अनलाइनमार्फत विद्यार्थीलाई पठनपाठनमा पुनर्ताजगी गर्ने गर्छन्। आधारभूत तहको पढाइलाई गुणस्तरीय बनाउन विद्यालयले बालविकासबाट उत्तीर्ण हुने विद्यार्थीलाई एक वर्ष पढेरमात्र कक्षा १ मा पढ्ने व्यवस्था गरिएको छ। विद्यालयमा नियमित पठनपाठनका साथै अतिरिक्त क्रियाकलाप र व्यावहारिक ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्ने शिक्षण सिकाइलाई जोड दिने गरिएको छ।
नेप्टेचौर, काउलेगौडा, कुवागैरा, स्यालीखेतलगायत बस्तीका बालबालिकाले अध्ययन गर्ने यस विद्यालयमा अहिले १८५ विद्यार्थी अध्ययनरत छन्। प्रअ चोखालका श्रीमान् निजामती सेवामा छन् भने छोराले इञ्जिनियरिङ र छोरीले स्टाफ नर्स उत्तीर्ण गरेका छन्।


