पोखरा- गण्डकी प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले आफूलाई भेट्न आउँदा खादामाला नल्याउन आग्रह गरेका छन्। बधाई तथा शुभकामना दिँदा खादामाला, पुष्पगुच्छा आदि प्रयोग नगर्न उनले आग्रह गरेका हुन्।
खादामालामा अनावश्यक फजुल खर्च हुने र वातावरणीय स्वच्छतामा पनि हानी पुर्याउने भएकाले त्यस्ता वस्तुको प्रयोगलाई निरुत्साहित गर्नका लागि खादामालामा प्रतिबन्ध गरिएको मन्त्री जुग्जालीको सचिवालयले जनाएको छ। मन्त्रालयमा अत्यावश्यकबाहेक हरेक दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म भेटघाटको समय तय गरिएको मन्त्री जुग्जालीका स्वकीय सचिव सुदिन पौडेलले जानकारी दिए।
म्याग्दी प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित उनले गत शुक्रबार मन्त्रीमा नियुक्त भएका थिए। मन्त्री जुग्जाली यसअघि एमालेका खगराज अधिकारीको नेतृत्वमा रहेको सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए।
नेपाली कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन सरकार बनेपछि जुग्जाली मन्त्री बनेका हुन्। शुक्रबार पदभार सम्हालेपछि मन्त्री जुग्जालीले प्रादेशिक सडकको गुरुयोजना बनाउने पहिलो निर्णय गरेका छन्।


