काठमाडौं- काठमाडौंस्थित कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका कृष्णमान डंगोलले निर्वाचित भएका छन्।
आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी भएका हुन्।
विजेता बनेका डंगोलले ५३३४ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी बनेका माओवादीका शिवशरण महर्जनले ४५५५ मत पाएका थिए।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी नदिएको यो स्थानमा माओवादीलाई समर्थन गरेको भनिएपनि उसले औपचारिक घोषणा भने गरेको थिएन।
यस्तै तेस्रो स्थानमा चित्त बुझाएका एमालेका सुरेन्द्र मानन्धरले ४३३७ मत पाए।
धरान उपमहानगरका मेयर हर्क साम्पाङको समर्थन पाएका स्वतन्त्र उम्मेदवार राजमान महर्जनले २०३६ मत पाए।
अर्का स्वतन्त्र उम्मेदवार दिनेश कुमार अधिकारीले १०४८ मत पुर्याए। राप्रापका ध्रुव महर्जनले ९९५ मत पाएका छन्।
कीर्तिपुरमा २६ हजार ६०४ मतदाता रहेकामा १८ हजार १३८ मत खसेको थियो।
उपनिर्वाचन भएको कीर्तिपुरको वडा नम्बर १ र ४ को वडाध्यक्षमा पनि कांग्रेसका उमेदवार नै निर्वाचित भएका थिए।
कीर्तिपुरमा भएका सबै पदमा काङ्ग्रेसले जित हात पारेको हो।



