काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले पहिलो जित निकालेको छ।
काठमाडौँले बुधबार भएको रोमाञ्चक खेलमा कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको हो।
काठमाडौँले १९.३ ओभर खेल्दै ७ विकेटको क्षतिमा कर्णालीले दिएको १५० रनको लक्ष्य भेट्टाएको हो। एनपीएल प्रतियोगितामा काठमाडौँको यो पहिलो जित हो।
काठमाडौँका सुमित महर्जनले नटआउट रहँदै ४० रन बनाए। जेरार्ड इरास्मसले ३८ र करण केसीले २८ रन जोडेका थिए। मिसेल लेभिटले २२ रन बनाउँदा अन्य ब्याटसम्यान चल्न सकेनन्।
यसअघि टस हारेर पहिला ब्याटिङमा परेको कर्णालीले ५ विकेटको क्षतिमा पूरा ओभर खेल्दै १४९ रनको योगफल तयार पारेको थियो।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीका शिखर धवनले ७२ रन जोडेपछि राम्रो स्कोरको लक्ष्य दिन टिम सफल भएपनि त्यसलाई काठमाडौँले चेज गरेको हो।
५१ बलमा ४ चौका र ५ छक्कासहित शिखरले नटआउट रहँदै ७२ रन बनाएका थिए। कर्णालीका चाडविक बाल्टनले २१ रन बनाए। बाबर हयातले १३, गुल्सन झाले १२ र जिसान मक्सुदले १४ रन जोडेका थिए।
बलिङतर्फ काठमाडौँका जिरार्ड इरास्मसले २ विकेट लिएका थिए भने करण केसी,नाथन सटर र दीपेश कँणेलले समान एकएक विकेट लिए।
काठमाडौं यसअघि पहिलो खेलमा चितवन राइनोजसँग आठ विकेटले पराजित भएको थियो।


