काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगको अंक तालिकाको पुछारमा रहेको एफसी खुमलटारलाई मछिन्द्र फुटबल क्लबले ३–० ले पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा मछिन्द्रलाई जित दिलाउन अफिज ओलावाले ओलादिपोले दुई र आन्द्रेस नियाँ चोनकुको एक गोल गरेका हुन्।
खेलको ४२औं मिनेटमा मछिन्द्रका लागि नियाँले अग्रता दिलाएका थिए। यससँगै मछिन्द्रले पहिलो हाफमा एक गोलको अग्रता बनायो। पहिलो हाफमा एक गोलको अग्रता लिएको मछिन्द्रका लागि ओलावालेले ७७ औं मिनेटमा अग्रता दोब्बर बनाए र ८३ औं मिनेटमा दोस्रो गोल थपे। मछिन्द्र आजको जितसँगै दोस्रो स्थानको चर्च ब्वाइज युनाइटेडसँग अंकमा बराबरीमा छ। तर चर्च बोइजसँग हेड–टू–हेड फरकमा पछाडि भएपछि ऊ तेस्रो स्थानमा परेको हो।
सोमबार नै दशरथ रंगशालामा भएको अर्को खेलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।
खेलको ३६ औं मिनेटमा शेर्पाका म्यानुअल नाना अग्योमाङले सुरुवाती गोल गरेपछि संकटाले दोस्रो हाफमा गोल फर्काएको थियो। ७४ औं मिनेटमा आयुष घलानले पेनाल्टीमा गोल गर्दै संकटालाई पुनरागमन गराएका थिए।
बराबरीसँगै हिमालयन शेर्पा २२ अंकका साथ नवौं एक अंक कम रहेको संकटा ११ औं स्थानमा छन्।


