काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बुधबार भएको खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १९१ रन बनाएको हो। यो एनपीएलमा भएका खेलमध्ये अहिलेसम्मकै ठूलो लक्ष्य हो।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ४६ रन बनाए। उनले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
टम मुर्सले ३०, अर्जुन साउद १७, आशुतोष घिरैया १५ र सन्दीप जोरा १२ रनमा आउट भए।
विराटनगरका लागि इस्मत आलम, सन्दीप लामिछाने र राजेश पुलामीले १–१ विकेट लिए।


