काठमाडौँ- एनपीएल अन्तर्गत बुधबार भएको खेलमा विराटनगर किङ्सले पहिलो जित निकालेको छ।
टस जितेर पहिले बलिङ रोजेको विराटनगरले लुम्बिनी लायन्सविरुद्ध २ विकेटको जित निकालेको हो।
१९२ रनको लक्ष्य पाएको विराटनगरले १९.५ ओभर खेल्दै ८ विकेट गुमाएर जित निकालेको हो।
विराटनगरका लोकेश बमले ७१ रन बनाएका थिए। बसिर अहमदले ४० रन बनाए। मार्टिन गुप्टिलले २८, क्रिस सोलले १४ रन दिलाए। अन्य खेलाडीले दोहोरो अंक बटुल्न सकेनन्।
लुम्बिनीका दुर्गेश गुप्ताले ३, साद बिन जफर र रेमन्ड सिमोन्सले समान दुई दुई विकेट लिए। विवेक यादवले एक विकेट लिएका थिए।
लुम्बिनी इनिङमा पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा लुम्बिनीले १९१ रन बनाएको थियो। यो एनपीएलमा भएका खेलमध्ये अहिलेसम्मकै ठूलो लक्ष्य हो।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ४६ रन बनाए। उनले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
टम मुर्सले ३०, अर्जुन साउद १७, आशुतोष घिरैया १५ र सन्दीप जोरा १२ रनमा आउट भए।
विराटनगरका लागि इस्मत आलम, सन्दीप लामिछाने र राजेश पुलामीले १–१ विकेट लिएका थिए।
यसअघि विराटनगरले जनकपुर बोल्टस् र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो।
