काठमाडौं– भक्तपुरको सूर्यविनायक नगरपालिका–५ चुनदेवीस्थित बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्स, फर्निचर सञ्चालक बिजेनको साढे तीनतले घर र सँगै रहेको पुष्प शिल्पकारको कृपालु फर्निचर कारखानामा आगलागी हुँदा पुगेको क्षतिको प्रारम्भिक विवरण प्रहरीले सार्वजनिक गरेको छ।
गत आइतबार बेलुकी भएको आगलागीमा २ करोड २९ लाख बराबरको धनमालमा क्षति पुगेको प्रहरीले जानकारी दिएको हो। प्रहरी परिसर भक्तपुरले दुई फर्निचर र एक घरमा भएको आगलागीको सोमबार दिनभर लगाएर घटनाको मुचुल्का गरी क्षति विवरण संकलन गरेको हो।
न्यू दाजुभाइ फर्निचर ट्रेडर्समा सुरुमा आइतबार साँझ सवा ७ बजे अचानक आगलागी सुरु भएर त्यहीँ आगो फैलिँदै घर र सँगैको कृपालु फर्निचरमा समेत आगलागी हुँदा मानवीय क्षति नभए पनि तयारी फर्निचर, कच्चापदार्थ, मेसिन, केमिकल, कार, घर, नगद तथा जिन्सीलगायतका सामान जलेर नष्ट भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले बताए।
आगलागीपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, दमकल र स्थानीयको सहयोगमा राती १० बजेर ३० मिनेटमा नियन्त्रणमा आएको उनले जानकारी दिए।


