काठमाडौँ- अभियन्ता डा गोविन्द केसीले भ्रष्ट व्यक्तिलाई सरकारले काखी च्यापे व्यापक जनदबाबसहित प्रतिरोध गर्ने चेतावनी दिएका छन्। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो देश पुनर्स्थापना गराउने आश्वासन दिएर गरिएको संगठित ठगीमा राजनीतिक व्यक्तिहरू नै संलग्न भएको आरोपमा अनुसन्धान भइरहेका बेला डा केसीले यस्तो चेतावनी दिएका हुन्।
उनले नागरिकलाई आन्दोलित भइरहन पनि अपिल गरेका छन्। ‘जनस्तरबाट व्यापक प्रतिरोध गर्न हामी बाध्य हुने जानकारी गराउन चाहन्छौं। सरकारलाई निरन्तर खबरदारी गर्न सबै माध्यमहरुबाट आन्दोलित हुन सबै सचेत नागरिकहरुलाई अपिल गर्दछौं,’ डा केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
राजनीतिक दलका शीर्षस्थ नेतालगायत जुनसुकै ओहदाका भए पनि सबै व्यक्तिहरुलाई निष्पक्ष रुपमा अनुसन्धान गर्न भ्रष्टाचारका अन्य प्रकरणको समेत क्रमशः छानविन गर्न उनको माग छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलगायतका पदाधिकारीहरुमाथि समेत कानुन अनुसार छानविन र कारवाही गर्नपर्ने डा केसीको माग छ। ‘भ्रष्टाचार र अपराध गरेपछि आफैं संवैधानिक निकायका शीर्ष पदमा पुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलगायतका पदाधिकारीहरुमाथि समेत कानुन अनुसार छानविन र कारवाही गर्न तथा सत्ता वा प्रतिपक्ष कतैका पनि भ्रष्ट व्यक्तिहरुलाई काखी नच्याप्न हामी सरकारलाई चेतावनी दिन चाहन्छौं,’ केसीको विज्ञप्तिमा उल्लेख छ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा इन्द्रजित राईलगायतका राजनीतिक व्यक्ति पक्राउ परेकाले तीन दलका शीर्ष नेताले उनीहरुको मुद्दा कमजोर बनाउने प्रयास थालेको डा केसीको आरोप छ। यो प्रकरणमा हालसम्म १३ जना पक्राउ परेका छन् भने तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक थापा र डा इन्द्रजितका छोरा निरज फरार छन्।
यस्तो छ डा केसीको विज्ञप्ति
हामी लामो समयदेखि नेपालमा सुशासनको मुद्दासमेतलाई लिएर संघर्षमा छौं। २०७३ सालमा लामो समय चलेको सत्याग्रहसहितको नागरिक संघर्षले लोकमान सिंह कार्कीको समानान्तर सत्ताको अन्त गर्नमा महत्वपुर्ण भुमिका खेलेको थियो। त्यस्तै न्यायपालिकामा भ्रष्टाचार संस्थागत गर्ने तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई जवाफदेही बनाउन पनि नागरिक अभियानले ठुलो भुमिका खेलेको थियो।
पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी व्यक्तिहरुलाई बचाउने सरकारको प्रयासबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। गएको डेढ सातामा उक्त काण्डका केही दोषीहरुलाई पक्राउ गरेर सरकारले भ्रष्टहरुलाई कारवाही गर्दै सुशासनको बाटो खोलेको भनेजसरी प्रचार गरिरहेको छ। तर उक्त प्रकरणमा प्रत्यक्ष संलग्न भएको भनेर प्रमाण भएका व्यक्तिहरुलाई समेत राजनीतिक पहुँच र पारिवारिक सम्बन्धका कारण छुँदै नछुने गरी प्रहरीले अनुसन्धान टुंग्याउने तयारी गरेको भन्ने जानकारी हामीले पाएका छौं।
त्यसो गरिएमा कुनै पनि जिम्मेवार नेपाली नागरिकलाई त्यो काम सह्य हुने छैन। त्यसले हाल चलिरहेको सरकारको बहुप्रचारित भ्रष्टाचारविरोधी अभियान नागरिकका आँखामा छारो हाल्ने प्रयास भएको प्रमाणित हुनेछ।
त्यसैले कुनै पनि हालतमा यो प्रकरणमा संलग्न राजनीतिक दलका शीर्षस्थ नेतालगायत जुनसुकै ओहदाका भए पनि सबै व्यक्तिहरुलाई निष्पक्ष रुपमा अनुसन्धान र कारवाही गर्न तथा भ्रष्टाचारका अन्य प्रकरणको समेत क्रमशः छानविन गर्न, भ्रष्टाचार र अपराध गरेपछि आफैं सम्वैधानिक निकायका शीर्ष पदमा पुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलगायतका पदाधिकारीहरुमाथि समेत कानुन अनुसार छानविन र कारवाही गर्न तथा सत्ता वा प्रतिपक्ष कतैका पनि भ्रष्ट व्यक्तिहरुलाई काखी नच्याप्न हामी सरकारलाई चेतावनी दिन चाहन्छौं।
त्यसो नभएमा कुनै पनि बेला जनस्तरबाट व्यापक प्रतिरोध गर्न हामी बाध्य हुने जानकारी गराउन चाहन्छौं। साथै सरकारलाई निरन्तर खबरदारी गर्न सबै माध्यमहरुबाट आन्दोलित हुन सबै सचेत नागरिकहरुलाइ अपिल गर्दछौं।
डा गोविन्द केसी
काठमाडौं
२०८०।२।२


