काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका पक्षमा राजनीतिक वातावरण बन्न थालेको छ। रविका पक्षमा विपक्षीहरु मात्र नभई सत्ताधारी दलकै नेताहरू खुल्न थालेका छन्।
रविलाई रातारात चिवतनबाट पोखरा पुर्याइएपछि रास्वपाले त्यसलाई राजनीतिक रूपमा क्यास गर्ने रणनीति बनाएको छ भने उसको रणनीति सफल पनि भइरहेको देखिन थालेको छ। हिरासतमा रहेका व्यक्तिको अधिकारप्रति संवेदनशील नहुँदा सरकारमाथि चौतर्फी दबाब सिर्जना हुन थालेको हो।
सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि रविलाई रातारात पोखरा लगिएको विषयमा कुराकानी भएको थियो।
नेताहरू कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले रास्वपा सभापति लामिछानेलाई रातारात पोखरा लगिएको विषयमा सरकारको धारणा माग गर्नुपर्ने विषय उठाएका थिए।
पार्टीले यो विषयलाई ‘नोटिस’ मा राख्नुपर्ने उनीहरूले धारणा थियो। बैठकमा सहभागी एक नेताका अनुसार यो विषयमा गृहमन्त्री रमेश लेखकको धारणा आउनुपर्ने बताएका थिए। तर बैठकमा लेखक उपस्थित थिएनन्। लेखक सुरक्षा गोष्ठीका लागि भन्दै आइतबार वीरेन्द्रनगर गएका थिए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेमाथि सरकारले निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले लामिछानेमाथि सरकारले गरिरहेको व्यवहारको निन्दा समेत गरेका छन्।
‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु। त्यस प्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु,’ उनले लेखेका छन्।
माओवादी केन्द्रकै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि रविमाथि निरंकुश व्यवहार भएको भन्दै सरकार स्वेच्छाचारी बन्दै गएको आरोप लगाएका छन्।
भ्रष्टाचार आरोपमा मुछिएका आफ्ना नेताकार्यकर्तालाई छानबिन र अनुसन्धानमा नल्याई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भइरहेको ज्यादतीले सरकार प्रतिशोधमा उत्रिएको सर्वसाधारणको आशंकालाई बल पुगेको जिकिर गरेका हुन्।
‘हाल म देश बाहिर रहेकै अवस्थामा रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाने सन्दर्भमा अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार भएको भन्ने खबर सुन्नु पर्दा ज्यादै दुःख लागेको छ,’ चीन भ्रमणमा रहेका श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो सत्य हो भने म यसको कडा विरोध एवं भर्त्सना गर्दछु र यसप्रकारको गैरकानुनी, मानवअधिकार विरोधी, अपमानजनक तथा प्रतिशोशपूर्ण दुर्व्यवहार तत्काल रोक्न सरकारसँग जोडदार माग गर्दछु।’
त्यस्तै उनले भष्टाचारको अनुसन्धान हुनु पर्ने भन्दै लामिछानेबाहेक कांग्रेस र एमालेका नेताहरुमाथि अनुसन्धान नगरी उनीहरुलाई बचाउन सरकारले भेदभाव गरेको आरोप लगाएका छन्।
उनले थप लेखेका छन्, ‘स्वच्छ अनुसन्धानबाट दोषी प्रमाणित भएमा जो सुकै भए पनि कारवाही गरिनु पर्दछ। रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको सन्दर्भमा पनि हामीले यो नीति स्पष्ट पार्दै आएका हौं। तर सरकारले लामिछाने बाहेकका नेताहरुको हकमा कुनै छानविन, अनुसन्धान नगरी उनीहरुलाई बचाउने नाङ्गो भेदभावपूर्ण कार्य गरिरहेकाले हाम्रो पार्टीले त्यसको घोर बिरोध गर्दै आएको छ।’
लामिछानेलाई रातारात पोखरा लगेको विषयमा नेपाल प्रहरीका दुई उच्च अधिकारीले राष्ट्रिय मानव अधिकार आयोगलाई बयान दिएका छन्। आयोगले दुई उच्चपदस्थ प्रहरी अधिकारीलाई बोलाएर बयान लिएको हो।
सोमबार एआईजी टेकबहादुर तामाङ र प्रहरी प्रवक्ता एवम् डीआईजी दानबहादुर कार्कीले आयोग कार्यालयमा पुगेर बयान दिएका हुन्। आयोगले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई नै बयानमा बोलाएको थियो। तर, कुँवरले आफू उपत्यकाबाहिर भएको भनेर एआईजीलाई पठाएका थिए।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले रास्वपा सभापति रवि लामिछानेकै विषयमा छलफल गर्न बोलाइएको बताए।
‘बाहिर उठेका विषयहरुबारे हामीले सोध्यौँ। उहाँहरुले आफ्नो भनाइ राखेर जानुभएको छ। हामी अहिल्यै निष्कर्षमा पुगिसकेका छैनौँ। अनुसन्धानलाई निरन्तरता दिन्छौँ,’ पोखरेलले भने।
दुवै प्रहरी अधिकारीले प्रहरीबाट कुनै पनि किसिमको दुर्व्यवहार नभएको र सुरक्षा संवेदनशीलताका कारण राति लैजानुपरेको बताए।
डा. पोखरेलले आवश्यकता महसुस भएमा आईजीपीलाई फेरि बोलाएर बयान लिने जानकारी दिएका छन्।
शनिबार मात्रै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले रास्वपा सभापति रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगेकोप्रति आपत्ति जनाएका थिए।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राति १२ बजे उठाएर लैजानु अमानवीय व्यवहार भएको बताए।
‘नेपाली कांग्रेस मानव अधिकार र लोकतन्त्रप्रति प्रतिबद्ध छ। रविजीको विषयमा अदालतले आफ्नो प्रक्रिया अघि बढाइरहेको छ। त्यसमा मेरो केही भन्नु छैन,’ उनले थपे, ‘तर राति १२ बजे उठाएर लैजाने भन्ने कुरा चाहिँ अमानवीय काम हो। यो रविजीको मात्रै कुरा होइन, कसैलाई पनि गर्न हुँदैन। यो त हाम्रो लोकतान्त्रिक देश हो। त्यो विल्कुल गलत हो।’
लामिछानेलाई रातारात पोखरा पुर्याएपछि भेट्न पुगेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उनीमाथि प्रतिशोधपूर्ण व्यवहार भएको टिप्पणी गरेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमै गएर लामिछानेसँग भेट गरेपछि डा. भट्टराईले पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै राज्यले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएका हुन्।
‘नयाँ राजनीतिक शक्तिहरूको उदय भइराखेको अवस्थामा एक सशक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिको रूपमा उहाँलाई बुझ्छु । त्यसैले उहाँप्रति मेरो सधैँ सद्भाव पनि छ । जुन ढंगले अहिले उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ, यो अलि अस्वाभाविक लागेर र अन्यायपूर्ण भो भनेर नै आफ्नो ऐक्यबद्धता जनाउनका लागि आएको हुँ । उहाँको स्वास्थ्य बुभ्mन पनि आएको हो, स्वस्थ नै हुनुहुँदोरहेछ,’ भट्टराईले भनेका थिए, ‘अलिकति प्रतिशोधपूर्ण व्यवहार भयो भन्ने बुझेको छु । वास्तविक पीडितहरूका समस्या सम्बोधन गर्नतिर नभई विषयान्तर गर्न खोजिएको छ । कानुनले आफ्नो बाटो लियोस्, तर त्यसको बहानामा राजनीतिक प्रतिशोध लिने काम नहोस् भन्ने हो ।’
भेटमा लामिछानेले आफूमाथि प्रतिशोध साधिएको बताएको भट्टराईले सुनाए। ‘रविजीले ममाथि राजनीतिक प्रतिशोध लिइएको छ। मैले सहयोग गरिराखेको छु–गर्छु, त्यसको बाबजुद पनि यो जुन भइराखेको छ, यो सन्देश बाहिर पुगोस् भन्नुभयो,’ भट्टराईले भनेका थिए।
लामिछानेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पनि शनिबारै भेट गरिसकेका थिए। लामिछानेलाई भेट्न शाही कास्की पुगेका थिए।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा नै पुगेर शाहीले रविसँग भेटघाट गरेका छन्। लामिछानेलाई भेटेर निस्कने क्रममा शाहीले चितवनबाट पोखरा लाने क्रममा औषधिसमेत नदिएर दबाबसमेत गरिएको भन्दै सडक र सदनबाट जवाफ माग्ने बताएका थिए। मानव अधिकारको उल्लंघन गर्न नहुने उनको आग्रह छ।
भेटपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्यथा राज्य सञ्चालन गरिरहेका सञ्चालकहरू मानव अधिकारको गम्भीर उल्लंघन गरेर राज्य आतंक मचाउँछु भन्ने सोच राखेका छन् भने त्यो दिवा सपना मात्रै हो।’


