काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)बाट लुम्बिनी लायन्स बाहिरिने पक्का भएको छ।
एक खेलअगावै लुम्बिनी प्रतियोगिताको लिग चरणबाटै बाहिरिने पक्का भएको हो।
काठमाडौँ गुर्खाजसँग १८ रनको हार व्यहोरेपछि लुम्बिनी प्रतियोगितबाट बाहिरिने सिट पक्का गरेको हो।
६ खेल खेलिसकेको लुम्बिनीले जम्मा १ खेलमा मात्र जित निकाल्न सकेको छ।
५ खेलमा हार खेपेको लुम्बिनीलाई काठमान्डुले दिएको १०४ रनको लक्ष्य पछ्याउँदा १९.२ ओभरमा ८५ रनमा अलआउट भयो।
काठमान्डुले भने ४ खेलमा दोस्रो जित हो र ४ अंक खातामा जोडेको छ।
लुम्बिनीका लागि सन्दीप जोराले २९ बलमा २ चौकासहित २६ रन बनाए। उन्मुक्त चन्दले १४ रन जोडे। सूर्य तामाङले अविजित ११ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा काठमान्डुका कप्तान करण केसीले ४ ओभरमा १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। दिपेश कँडेलले किफायती बलिङ गर्दै ४ ओभरमा ६ रन मात्र खर्चेर ३ विकेट लिए।
जेरार्ड एरासमसले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिएका थिए। रासिद खानले १ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको थियो।
काठमान्डुका लागि भिम सार्कीले सर्वाधिक ३१ रन बनाएका थिए। डान डौथवेटले २१, प्रतीक श्रेष्ठले २० र स्टेफेन इस्किनाजीले १३ रन बनाएका थिए।
काठमाडौँ इनिङमा लुम्बिनीका बलिङमा साद विन जफरले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए।
रामोन सिमोण्ड्स र अभिशेष गौतमले २–२ विकेट लिए । सूर्य तामाङ र विवेक यादवले समान १ विकेट झारेका थिए।


