लन्डन- बेलायतको लन्डन नर्थहोल्ट निवासी ४९ वर्षीया अञ्जु रेग्मी सिग्देल च्यारिटीका लागि एभरेस्ट म्याराथनमा दौडने भएकी छन्। सुर्खेतस्थित वादी समुदायका बालबालिकाको सहयोगार्थ कोष जम्मा गर्ने उद्देश्यका साथ उनी मे अन्त्यमा नेपालमा हुने एभरेस्ट म्याराथनमा दौडन लागेकी हुन्।
एभरेस्ट म्याराथन मे २९ तारिख एभरेस्ट वेसक्याम्पदेखि नाम्चेबजार हुँदै लुक्ला पुगेर अन्त्य हुने तय भएको छ। अञ्जु यतिखेर प्रशिक्षण र चन्दा संकलनमा व्यस्त छन्। ‘खेलकुदले हाम्रो स्वास्थ्यमा खेल्ने भूमिकाको प्रचारप्रसार र सीमान्तकृत एवम् गरिबीको चपेटामा परी हातमुख जोड्न र शिक्षादीक्षा ग्रहण गर्नबाट वञ्चित वादी समुदायका बालबालिकाको सहयोगका लागि च्यारिटीमा सहयोग गर्ने अठोट राखेकी हुँ,’ उनले भनिन्।
हिक्मत वादी र उनकी श्रीमतीले सुर्खेतमा विभिन्न क्षेत्रबाट वादी समुदायका एकसय जना बालबालिका/किशोरकिशोरीलाई होस्टलमा राखेर पालनपोषण गरिरहेका छन्। तर, उनको आर्थिक अवस्था दयनीय रहेको ‘हेर्ने कथा’मा देखाइएपछि अञ्जुले उनीहरुलाई सहयोग गर्ने अठोट लिएकी हुन्। उनले इच्छुकलाई ‘गो फन्ड मी’मार्फत सहयोग गर्न पनि अपिल गरेकी छन्।
भरतपुर-४ पोख्रेली टोल लंकु चितवन घर भई हाल लन्डन नर्थहोल्ट बस्ने अञ्जुले व्यस्तता बाबजुद हालसम्म ७ वटा फुल म्याराथन पूरा गरिसकेकी छन्। ‘हरेक हप्ता कुनै न कुनै शारिरिक व्यायाममा आबद्ध हुन म सबै महिलालाई आह्वान गर्न चाहन्छु। यसले हाम्रो स्वास्थ्यमा सुधार र व्यक्तिगत तन्दुरुस्तीमा निकै ठूलो भूमिका खेल्छ,’ उनले भनिन्, ‘समय आफूले मिलाउने हो । हामी महिला भएपनि गर्न नसकिने केही छैन। अठोट गर्नुस् र आफ्नो प्रगतिको बाटोमा दृढ भएर अघि बढ्नुस्, सबैमा मेरो शुभकामना छ।’
उनले पुरुषहरुलाई पनि आ–आफ्ना दिदीबहिनी, आमा, भाउजु र बुहारी अनि श्रीमतीलाई केही गर्न हौसला दिन आग्रह गरिन्। बेलायतको च्यारिटी संस्था नेपलिज ब्रिटिस कम्युनिटी यूके कार्यसमितिमा आबद्ध भएर विभिन्न सहयोगमूलक कार्यमा संलग्न उनले लन्डनस्थित नेपाल रन यूकेको सदस्य भएर अरुलाई पनि हौसला बढाउने प्रयासमा लागिपरेको बताइन्।
सन् २०१८ नोभेम्बरदेखि दौड्न शुरु गरेकी उनले ५ के, टेन के रन र केही हाफ म्याराथन गरेपछि सन् २०२० बाट फुल म्याराथन शुरु गरेकी हुन्। सन् २०२४ सम्म उनले विश्वका सबै ६ प्रमुख म्याराथनमा भाग लिने लक्ष्य राखेकी छन्। अब सिकागो र टोकियो बाँकी छ।
उनको पहिलो फुल म्याराथन लन्डन म्याराथन २०२० थियो जुन कोभिड महामारीका कारण ‘भर्चुअल’ गरिएको थियो। लन्डन म्याराथन २०२१, बर्लिन म्याराथन २०२२, लन्डन म्याराथन २०२२, न्यूयोर्क म्याराथन २०२२, बोस्टन म्याराथन २०२३ र केही दिनअघिमात्र लन्डन म्याराथन २०२३ मा समेत सहभागिता जनाइसकेकी छिन्। यो लिंकमा क्लिक गरी अञ्जुलाई सहयोग गर्न सकिनेछ।


