काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले संसद र मन्त्री पद अरुले नै चलाउने अनुभव आफूले गरेको बताएका छन्।
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको पहिलो बैठकमा बोल्दै मन्त्री किराँतीले यस्तो बताएका हुन्। मन्त्री किरातीले मन्त्री अरुले नै चलाउने तर आफूहरू भने ‘शोकेसको मान्छे’ जस्तो मात्र भएर बस्नु परेको गुनासो समेत गरे।
‘सांसदहरूको सक्रिय भूमिका भइदिनुपर्यो। तपाईंहरूले बोलिदिनुपरो। हैन भने त यहाँ अरुले नै संसद चलाउँदो रहेछ, हामी त डमी मात्र रहेछौँ,’ मन्त्री किराँतीले भने, ‘अरुले नै चलाउँदो रहेछ मन्त्री त। हामी त शोकेसको मान्छे मात्र रहेछौँ। म आफूलाई लागेको कुरा यो हो।’
पर्यटन क्षेत्रमा हामीले धेरै ऐन बदल्न आवश्यक भएको र सुरक्षाका दृष्टिले ती काम छिटो गर्नुपर्ने उनको भनाइ थियो। मन्त्री एक जनाले मात्र चाहेर कुनै काम निष्कर्षमा नपुग्ने भन्दै उनले सांसदहरूलाई खुलेर बोलिदिएर सहयोग गर्न आग्रह गरेका थिए।
मन्त्री किरातीले नेपालजस्तो सानो देशका लागि धेरै विमानस्थल आवश्यक नभएको टिप्पणी गरेका थिए।


