काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार भएको खेलमा चितवन राइनोजविरुद्ध ५१ रनको जित निकालेपछि विराटनगर किङ्स उत्साहित भएको छ।
१८२ रनको लक्ष्य पाएको चितवनले ६ विकेट गुमाएर १३० रनमा सीमित भएपछि विराटनगले फराकिलो जित दर्ता गरेपछि उसमा खुशी भरिएको हो। यसअघि अंकतालिकाको पुछारमा रहेको टोली तालिकामा ४ अंकका साथ पाँचौँ स्थानमा पुगेको छ।
विराटनगरले ६ खेल खेल्दा ४ वटामा पराजित भएको छ। यद्यपि ५-५ खेल खेलेका काठमाडौँ र पोखराले पनि समान ४ अंकका साथ पछ्याइरहेका छन्।
विराटनगरका लागि बसिर अहमदले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरी ६८ रन बनाएर नटआउट रहे। मार्टिन गुप्टिलले ४५ रन बनाउँदा राजेश पुलामीले ३३ रन जोडेका थिए।
चितवनका रिजन ढकालले २ विकेट लिँदा बसिल हमीद, सोयाइल तनवीर र कुशल मल्लले एकएक विकेट लिएका थिए।
चितवनका लागि अमर रौतेलाले ४२ रन, सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन जोडेका थिए।
यता विराटनगरका लागि कप्तान सन्दिप लामिछानेले दुई विकेट लिँदा, बसिर अहमद, सुवास भण्डारी, क्रिस सोल र लोकेश बमले समान एक-एक विकेट हात पारे।
विराटनगरका बसिरले एकै बलमा कसरी बनाए १५ रन?
खेलमा विराटनगरका बसिर अहमदले एकै बलमा १५ रन बनाए। एनपीएलमा एकै बलमा सबैभन्दा बढी रन जोडेर कीर्तिमान बनाएका हुन्। चितवनका बलर अमर सिंह राउटेलाको ओभरमा विराटनगरका बसिरले एकै बलमा १५ रन बनाएका हुन्।
खेलको ११औं ओभरमा बलिङ गर्न आएका राउटेलाको बलमा बसिरले छक्का हाने। उक्त बल ‘नो बल’ भयो। यसरी उनले ७ रन जोडिसकेका थिए। नो बल बनेपछि राउटेलाले फेरि बलिङ गर्नुपर्ने भयो। त्यसमा बसिरले २ रन बनाइदिए। तर फेरि ‘नो बल’ भयो। ‘नो बल’ हुँदा कुल ३ रन आयो। यसरी १० रन पुगिसकेको थियो। राउटेलाले फेरि बल फाल्नुपर्यो। त्यो बल पनि ‘नो बल’ हुँदा १ रन आयो। यसरी ११ रन बनिसकेको थियो। ३ पटक ‘नो बल’ फालेपछि फेरि राउटेलाले गरेको लेगल डेलिभरीमा बसिरले चौका पड्काए। यसरी एउटै बलका लागि राउटेलाले चार पटक बलिङ गर्नपुर्यो। एकै बलमा बसिरले १५ रन जोडिदिए।
राउटेलाले गरेको ११औँ ओभरमा मात्र २२ रन खर्चिएका थिए।
यसअघि एनपीएलमा एकै बलमा ११ रन बनेको थियो। जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्धको उद्घाटन खेलमै एकै बलमा ११ रन जोडेको थियो।
विराटनगरका क्रिस सोल बलिङमा थिए। जनकपुरका कप्तान अनिल शाह स्ट्राइकमा हुँदा पहिलो बल वाइड चौका बन्दा जनकपुरले ५ रन जोड्यो। यस्तै त्यसपछि पनि सोलले वाइड बल फाल्दा विराटनगरले एक रन पाएको थियो। फेरि लेगल डेलीभरी गर्दा जनकपुरले ५ रन जोडेको थियो। यसरी उसले ११ रन बनाएको थियो।
तस्बिरहरु















