सोल- दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाअभियोग प्रस्ताव पारित भएको छ। सत्तारूढ पार्टीलेसमेत योलविरुद्ध मत हालेपछि महाभियोग प्रस्ताव पारित भएको हो।
राष्ट्रिय सभामा शनिबार राष्ट्रपति युनविरूद्ध महाअभियोगको प्रस्ताव पेस गरेको गरेको थियो। त्यसमा २०४ मतले महाअभियोगको प्रस्ताव पारित भएको एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ। विपक्षमा ८५ जनाले मत हालेका थिए।
त्यहाँको व्यवस्थाअनुसार महाभियोग प्रस्ताव पारित गर्न दुई तिहाई अर्थात् कम्तीमा दुई सय मत ३०० सदस्यीय कोरियाको संसदमा राष्ट्रपति यूनको सत्तारूढ दल पिपल्स पावर पार्टी (पिपिपी) का १०८ सांसद छन् भने विपक्षीका १९० सांसद छन्। दुई तिहाईले महाअभियोग प्रस्ताव पारित हुन पीपीपीकै सांसदहरूले प्रस्तावमा मत हालेपछि पारित भएको हो।
अब महाअभियोग प्रस्ताव पारित भएको सूचना संवैधानिक अदालतमा पठाइनेछ। अदातले युनलाई राष्ट्रपतीय अधिकारबाट निलम्बनमा गर्न सक्नेछ।
अदालतले १८० दिनभित्र उनलाई पदबाट हटाउने वा पुनर्स्थापना गर्ने भन्ने फैसला दिनुपर्नेछ। अदालतले उनलाई निकालेको अवस्थामा ६० दिनभित्र अर्को चुनाव गरेर नयाँ राष्ट्रपति चुन्नुपर्ने हुन्छ।
गत साता पनि यूनविरूद्ध महाअभियोग प्रस्तावमा मतदान भएको थियो। त्यो बेला पीपीपीका सांसदहरू मतदानमा अनुपस्थित भएपछि राष्ट्रपति यून जोगिएका थिए।
