काठमाडौँ- काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित किराँतचोक नजिकको बागमती नदीकिनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु भएको छ।
चितवनको रत्ननगर नगरपालिका–१२ घर भई बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यको आइतबार उपचार क्रममा मृत्यु भएको हो।
शनिबार दिउँसो १२ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई गम्भीर घाइते उनलाई साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार बा ३५ प ५८१८ नम्बरको स्कुटरमा आएर बागमती किनारको खाली जग्गामा आचार्यले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएकी थिइन्।
मृतक आचार्यको शव परीक्षणका लागि अहिले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज टिचिङमा पठाइएको छ।


