लामो समयको अन्तरालमा काठमाडौँ गएको थिएँ। अर्को दिन बिहानै पीएल दाइलाई भेटन चाक्सीबारी पुगेँ। तुरून्तै भेट्न पाएँ र सोधेँ- तपाईँलाई कस्तो छ?
केही महिनादेखिको बिमारीले गर्दा फेरिएको त्यो हसिलो अनुहार विस्तारै आफ्नो स्थानमा फर्कँदै गरेको लाग्यो। स्वर पुरानै थियो। ‘फिल मच बेटर। तर, अत्यधिक थकाइको अनुभव र रोगले जन्माएको खानाप्रतिको बेस्वादले दिक्दार लागेको छ।’
पीएल दाइले मलाई बडो अपनत्वका साथ आफूसँगै ओछ्यानमा बसाएर यसरी बताउन्जेल म केही पुराना यादहरूको भेलमा निकै पर पुगिसकेको थिएँ।
त्यस दिन नरदेवीबाट पैदल हिँडेर हामी बालाजु औद्योगिक क्षेत्रमा रहेको ‘नेबिको’ विस्कुट फ्याक्ट्री पुगेका थियौँ। पीएल दाइको कुनै परिचित व्यक्ति थिए त्यहाँ, ‘चेरी’ भनेर बोल्नु हुन्थ्यो। फेरि गफिँदै हामी बालाजु, सोह्रखुट्टे, पकनाजोल, लैनचौर, ठमेल, क्षेत्रपाटी, इन्द्रचोक हुँदै न्यूरोड गेटसम्म आइपुगेका थियौंँ। हिडाई लामो भएको थियो।
वि. सं २०४०-४१ साल तिरको त्यस हिँडाइमा पीएल दाइले बडो विस्तारका साथ गणेशमानजीको विचार निर्माणको पद्धतिका बारेमा केही कुरा बताउनु भएको थियो। र, बीपी कोइरालाले गणेशमान सिंहको नाजुक आत्मसम्मानको लागि अपनाउने गरेको त्योभन्दा पनि कलिलो शैलीबारे हाँस्दै भन्नु भा’थ्यो पीएल दाइले- त्यो के ‘ह्यान्डल बिथ केयर’ भन्छन् नि, हो! बीपीको त्यही शैली अहिले चाहिन्छ गणेशमानजीलाई डिल गर्न बुझ्यौ?
वि. सं २०४२ सालमा नेपाली कांग्रेसले पञ्चायीि व्यवस्थाविरुद्ध शुरु गर्न लागेको सत्याग्रह भन्दा केही महिना पहिले बडो तनाव उब्जेको थियो कांग्रेसको नेतृत्वमा। गणेशमानजी र गिरिजाबाबुबीचको कार्यगत शैलीको कारणले बाहिर बडो ठूलो मतभिन्नता झागिँदै गएको देखिन्थ्यो।
सबैभन्दा बढी याद आइरहेको छ, पीएल दाइले भनेको- जेपी! राजनीतिभन्दा बाहिर पनि जीवन छ, न बिर्सनु!’
राजाले केही दाव खेलेका थिए। किर्तिनिधि विष्टको सल्लाहमा गिरिजाबाबुले एकाध पटक राजा वीरेन्द्रलाई भेटनु भएको थियो। गणेशमान जीलाई यो मन परेको थिएन। यसले गर्दा सत्याग्रहतर्फ डोरिन लागेका पार्टीका साथीहरूको एकाग्र मनोबल कमजोर हुने गणेशमानजीलाई लागेको थियो। तर, गिरिजाबाबुको विचार भिन्नै थियो। उहाँलाई लागेको थियो, पञ्चायतविरुद्धको लामो संघर्षले साथीहरूमा थकाई पनि छ। केही साथीहरू पञ्चायततिर लागे पनि। राजासँगको यस्तो भेटले नेपाली कांग्रेसको ‘रिकगनाइजेसन’ बढ्ने छ। शान्तिपूर्ण आन्दोलनमा हामी राजाले पन्छाउन नसक्ने एक पक्ष रहेछौंँ भन्ने धारणा स्थापित पनि हुन्छ। यसरी सोच्नु हुन्थ्यो गिरिजाबाबु।
अनि उहाँले जनजीवनका समस्याहरूलाई आधार बनाएर राजाका समक्ष बिन्तीपत्र बुझाउने कुरा प्रस्ताव गर्नु भएको थियो। विद्युत महशुल, भ्रष्टाचार, खानेपानीको समस्या, जनतामा शान्ति सुरक्षाको अभाव आदि कुरा उठाएर गाउँगाउँमा गई एउटै व्यहोराको निवेदनमा आमजनताको हस्ताक्षर गराउने र सो सबै निवेदनहरू संकलन गरी हस्ताक्षरकर्ताको कूल संख्या उल्लेख गरी राजदरबारमा बुझाउने कुरा थियो गिरिजाबाबुको। तर, गणेशमानजीको चित्त बुझिरहेको थिएन।
पञ्चहरू तथा कम्युनिस्टहरूले यसलाई ‘बिन्तीपत्रको राजनीति’ भनेर प्रचार गरिरहेको थिए। आन्दोलनको लागि कांग्रेसको बढ्दै गएको प्रभावको परिदृश्यमा सत्याग्रहको तयारीलाई बिन्तीपत्रे राजनीतिको आरोप गणेशमानजीको ‘ईगो’ले हम्मेसी स्वीकार्ने विषय थिएन। यसलाई पञ्च र कम्युनिस्टहरूले खुब हौस्याएका थिए। पुरै कांग्रेस वृत यसबाट चिन्तित थियो।
गणेशमानजी र गिरिजाबाबुका बीच विचारको बुझबुझारथ हुनु पर्ने सबैको चासो थियो। पार्टीभित्र पीएल दाइ र शैलजा दिदी- यी दुई जना मात्र थिए जो दुवै नेताका बीच सहज सम्वादलाई बढाउने सामर्थ्य राख्दथे। म यही बारेको केही कुरा गर्न त्यस बेला पीएल दाइलाई भेटन गएको थिएँ।
हेर जेपी उहाँ गणेशमान त हो। सबैले कहाँ सम्हाल्न सक्छन र! यसैले त मैले ‘ह्याण्डल विथ केयर’ भनेको हुँ। पीएल दाइले नेपाली कांग्रेसको वीरगञ्ज अधिवेशनको कुरो सुनाउनु भयो। वीरगञ्ज अधिवेशनमा पार्टीका धेरै ठूला नेताहरूको सभापतिमा सुवर्ण शम्सेरलाई समर्थन थियो। गणेशमानजीले सुवर्ण शम्सेरलाई सभापति बनाउन चाहनु भएको थिएन। गणेशमानजीले सुवर्णजीविरुद्ध कुनै बलियो उम्मेदवार पाउनु भएको थिएन। बीपीले पनि सुवर्णजीलाई नै समर्थन गर्नु भएको थियो। यो पनि गणेशमानजीलाई मन परेको थिएन।
बीपीलाई चिन्ता थियो, सभापतिको यस चुनावमा सबैले सुवर्णजीलाई मत दिएर गणेशमानजी एकदमै थोरै मत पाएर पराजित हुनु भयो भने उहाँलाई ठुलो धक्का लाग्नेछ। पैसा र धनका धनीको कांग्रेस भयो। मेरो त्यागको कुनै मान्यता भएन भने कुराले गणेशमान जीलाई बडो दुःखी तुल्याउने छ। यो ठुलो चिन्ता थियो बीपीलाई। अनि गणेशमानजीले अलिक बढी तथा सम्मानजनक भोट पाउनुस् भनेर बीपीले आफ्ना विश्वासी केही साथीहरूलाई गणेशमानजीको पक्षमा मत दिन अह्राउनु भएको थियो। शायद वि. सं २०१२ साल तिरको कुरो हो यो। पीएल दाइले पाउँपैदल हिँडिरहेको मलाई सोध्नु भएको थियो- ल भन जेपी, आज कांग्रेसमा को छ र यसरी गणेशमानजीलाई ह्याण्डल गर्ने?
कांग्रेसभित्रको त्यस समस्याको त्यस बेला समाधान भयो। सबैले सत्याग्रहलाई बढाए। राजा समक्ष निवेदन पनि दिइयो। राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनले लाखौँ जनताको हस्ताक्षरयुक्त निवेदन बुझ्न मानेनन्। राजदरबारको पश्चिमी गेटको निवेदन शाखामा बुझाइयो।
अन्ततः गणेशमानजी कांग्रेस छोड्नु भयो। उहाँको देहावसान भयो। चाक्सीबारीबाट गणेशमानजीको पार्थिव देह उठाइँदा र त्यस महायात्रामा हिँड्दा मलाई लागेको थियो- गणेशमानजीको मृत्युलाई त किमार्थ पन्छाउन सकिन्न्थ्यो। तर, यदि त्यस दिन पीएल दाइले भन्नु भएअनुसार बीपीले गणेशमानजीलाई सम्हाल्ने गरेजस्तै त्यस बेलाका नेताहरूले सम्हालिदिएको भए पशुपतिसम्मको गणेशमानजीको यात्रा अझ महान हुने थियो।
त्यस दिन रूग्ण पीएल दाइसँगै उहाँको सान्निध्य उहाँकै छेउमा बस्दा मेरो मनमा यी सब कुराहरू उर्लेर आए।
पुराना त्यस कुरामा बगेको मलाई थाहै भएन, यसबीच पीएल दाइले आफू गम्भीर बिमारीबाट थलिएर बल्ल आफ्नो हातबाट खाना खान थालेको भन्दै हुनुहुन्थ्यो। अनि मैले गहिएर उहाँलाई हेरेँ। आफ्नो बोलचालमा बहुधा अंग्रेजीका वाक्यांशहरू बोल्ने गरेका पीएल दाइ बातबातमा मेरो नाम लिनु पर्दा जेपी आनन्द बोल्नु हुन्थ्यो। यो नयाँ कुरा थिएन। तर यसले मेरो उहाँसँगको लामो सम्बन्धको झल्को दिन्थ्यो। अब मलाई जेपी आनन्द भनेर बोलाउनेहरू कमै भेटिन्छन्।
धेरै बेर कुरा भयो। मेरो गाउँको घर पनि पुगेको सम्झना आयो उहाँलाई। एकसरो धेरै कुराहरू सुनाउनु भयो। सबैभन्दा बढी याद आइरहेको छ, पीएल दाइले भनेको- जेपी! राजनीतिभन्दा बाहिर पनि जीवन छ, न बिर्सनु!’
शायद उहाँले यो कुरो मभित्रको मलाई भन्नु भएको थियो। लगभग वर्ष दिन पहिले, शायद २०८० असोज ९ गतेको कुरो हो यो।
म फेरि पनि लेख्नेछु पीएल दाइ अर्थात् प्रेमलाल सिंहबारेमा सोचेको थिएँ। आज उहाँको देहावसानको समाचार सुनेँ। शान्तिका साथ त्यहाँ रहनु हुनेछ पीएल दाइ!


