राजविराज – सप्तरीको राजविराज विमानस्थलदेखि रात्रिकालीन उडान सुरु भएको छ।
रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध एयरले उक्त विमानस्थलमा व्यावसायिक रुपमा रात्रिकालीन उडान सुरु गरेको हो।
राजविराज विमानस्थलमा रात्रिकालीन उडानको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राजविराजमा रात्रिकालीन सेवा सुरुभएसँगै यसले पर्यटन र समग्र अर्थतन्त्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
पर्यटनमन्त्री पाण्डेले विमानस्थलको रात्रिकालीन सेवाले अर्थतन्त्रलगायत विविध क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बाए। उनले विविधितापूर्ण प्रकृति र संस्कृतिले भरिपूर्ण नेपालको पर्यटनलाई प्रवर्द्धनका निम्ति यो विमानस्थल सहयोगी बन्ने धारणा राखे।
राजविराजबाट पोखरालगायत गन्तव्यमा सीधा उडान गर्नेगरी आगामी दिनमा यसलाई विकास गरिनुपर्नेमा जोड दिए। यसअघि मन्त्री पाण्डेले एयरफिल्ड लाइटिङ सिस्टमको उद्घाटन गरेका थिए।
राजविराज विमानस्थल कार्यालयका अनुसार २०५२ र २०६५ सालमा केही दिन उडान भएको थियो। २०६६ सालमा केही समय राजविराज विमानस्थलबाट पहाडी जिल्लाका लागि उडान भएर पुनः बन्द भएको थियो।
२०७५ वैशाखमा विमानस्थलको पक्की धावन मार्गसहितको संरचना निर्माण भएको थियो। राजविराजमा रात्रिकालीन उडानले मधेशको पर्यटनका निम्ति ढोका खुलेको स्थानीय रोशन मण्डलले बताए।


