काठमाडौँ- माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले एमालेसँग असन्तुष्ट वामपन्थी नेता वामदेव गौतमलाई पार्टीमा भित्र्याउन कसरत थालेको छ।
२०७८ भदौ १८ गते गौतमले नेकपा (एमाले) परित्यागको घोषणा गरेका गौतमलाई पार्टीमा भित्र्याउन नेपाललगायतका नेता सक्रिय भइरहेका बेला पार्टीले नै आधिकारिक रूपमा गौतम भित्र्याउने गरी छलफल चलाएको हो।
उनीसहित नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानमा रहेका नेतालाई पार्टीमा भित्र्याउन एकीकृत समाजवादीले छलफल चलाएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
मंसिर २६ गतेदेखि चलेको नेकपा एस स्थायी कमिटी बैठकमा भएका छलफलका विषयबारे पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘केही पार्टीमा रहेका शीर्ष नेताहरू हाम्रो पार्टीमा आउन संवाद चलिरहेको छ, आजको बैठकले उहाँहरूसँग संवाद गर्ने गरी तयारी गरेको छ।’
पत्रकारहरूले वामदेव गौतमलाई पार्टीमा प्रवेश गराउनेबारे बैठकमा छलफल गरिएको हो भन्ने प्रश्न राखेका थिए। जवाफमा खतिवडाले भने, ‘उहाँ धेरै सकारात्मक हुनुहुन्छ, पार्टीको औपचारिक प्रक्रिया पूरा गर्न संवाद गर्ने निर्णय स्थायी कमिटीले गरेको छ।’
गौतमले पनि आफू नेकपा एसमा सक्रिय हुन तयार रहेको प्रतिक्रिया दिएका छन्।
गौतमलाई एकीकृत समाजवादीमा ‘वरिष्ठ नेता’को पदवी दिने तयारी गरिएको छ। अध्यक्ष माधव नेपाल र ‘सम्मानित नेता’ झलनाथ खनालपछि तेस्रो वरियतामा गौतमलाई राख्ने नेपालको तयारी छ। नेकपा एसको विधानमा ‘वरिष्ठ नेता’ रहन सक्ने व्यवस्था छ। वामदेवको अभियानमा लागेका ७२ नेतालाई पनि गौतमसँगै भित्र्याउने तयारीमा नेकपा एस छ।
वामदेवकी पत्नी तुलसा थापामगर भने एमालेमा सक्रिय छन्।
वामदेवले एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले २०७८ भदौ १८ गते एमाले परित्याग गरेको घोषणा गरेका थिए। त्यसबेला गौतम एमालेको उपाध्यक्ष थिए।
त्यसपछि गौतमले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरेर त्यसको संयोजक बने। २०७९ असार १४ गते गौतमले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए। तर यो अभियान पनि विफल बनेपछि उनी समाजवादीतर्फ सम्पर्क बढाउन बाध्य भएका हुन्।
२०८० जेठमा गौतमले पुरानै पार्टी एमालेमा फर्कन चाहेको अभिव्यक्ति दिएका थिए। संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रिय सभा सदस्यसमेत रहेका गौतमले एमालेले बोलाउने हो भने आफूसहित नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान एमालेमा समाहित हुन तयार रहेको बताएका थिए।
उनले आफ्नो सदस्यता एमालेमै रहेको दाबीसमेत गरेका थिए। आफू एमालेले फर्कनका लागि ७० वर्षे उमेर हद हटाउनुपर्ने उनको माग एमालेले सम्बोधन गरिदिएको छ। तर गौतमलाई भित्र्याउन एमाले अध्यक्ष केपी ओलीले चासो नदिएपछि नेपालसँग कुराकानी बढाउने मनस्थितिमा उनी पुगेका हुन्।
यसअघि पनि गौतमले नेकपा एसमा प्रवेश गर्न सक्ने अनुराग व्यक्त गरेका थिए। नेकपा एसलाई भोट माग्ने गौतमले गीत नै लेखिदिएका थिए। उक्त गीत २०७९ वैशाख २० गते सार्वजनिक भइसकेको छ। त्यसबेलै गौतम नेकपा एसमा सक्रिय हुने आकलन भएको थियो।
गीतको बोल छ-
एकीकृत समाजवादी हाम्रो पार्टी हो
क्रान्तिकारी विकास गर्न जन्मिएको हो
गीतको म्युजिक भिडियोमा उनले अभिनय पनि गरेका थिए। गीतमा कृष्ण केसी र जुना श्रीष मगरले स्वर दिएका छन्। संगीत कृष्ण केसीको रहेको छ।
गीत लेखेर अभिनय गरिदिए पनि नेकपा एसभन्दा एमालेमा नै जान गौतमको जोड थियो। तर यावत् प्रयास गर्दा पनि एमालेमा भित्रिने उनको चाहना पूरा हुन सकेन। अन्तत समाजवादी तर्फ वामदेव लम्किएका छन्।
यस्तो छ वामदेवले लेखिदिएको समाजवादीको चुनावी गीत


