काठमाडौँ- सर्वोच्च अदालतले कैलाली टीकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय सदर गरेको छ। कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सर्वोच्चले पनि सदर गरेको हो।
सर्वोच्चका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला सदर गरेको हो। योसँगै चौधरीले २० वर्ष कैद सजाय पूरा गर्न पर्ने भएको छ।
उच्च अदालतको फैसलाविरुद्ध चौधरी पुनरावेदन लिएर सर्वोच्च पुगेका थिए। यही मुद्दामा कैलालीले तीन वर्ष कैद सजाय सुनाएका लक्ष्मण चौधरीलाई पनि उच्च अदालत दिपायलले जन्मकैदको सजाय तोकेको थियो।
सर्वोच्चले उनलाई भने जन्मकैद नहुने र जिल्ला अदालतकै फैसला अनुसार ३ वर्षमात्र कैद सजाय हुने ठहर गरेको छ। सर्वोच्चले सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको छ।
रेशम मुख्य योजनाकार भनिएको टीकापुर घटनामा थरुहट प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी वरिष्ठ उपरीक्षक एवं तत्कालीन सेती अञ्चल प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना, सशस्त्रका २ र १ नाबालकसहित ८ जनाको मृत्यु भएको थियो।
२०७२ भदौ ७ मा उक्त घटनामा दोषी चौधरीलाई छुटाउन सरकारले कानुन संशोधनको तयारी गरेको थियो। नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रहेकी रेशमपत्नी रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छन्। सुदूरपश्चिम प्रदेशमा पनि नागरिक उन्मुक्ति सत्ता गठबन्धनसँग मिलेर सरकारमा छ।
यस्तो छ सर्वोच्चको संक्षिप्त फैसला






