काठमाडौँ– जिउँदो सहिद भनेर चिनिएका मुकेश कायस्थलाई सरकारले सहिद घोषणा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सहिद घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
तत्कालीन राजा ज्ञानेन्द्र शाहको निरंकुशताविरुद्ध १४ वर्षको उमेरमै प्रजातन्त्र माग गर्दै आन्दोलनमा होमिएका कायस्थको वैशाख २८ गते निधन भएको थियो।
उनीमाथि २७ चैत २०६३ मा प्रहरीले कञ्चटमा गोली हानेको थियो। मुकेशले लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार गरे। तर उनी पूर्ण रूपमा ठिक हुन सकेका थिएनन्। गोली लागेको १७ वर्षपछि उनको ३२ वर्षको उमेरमा निधन भएको थियो।
