काठमाडौँ – आउँदै गरेको अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसर पारेर नगद उपहार पाइने भन्दै सामाजिक सञ्जालमा आएका म्यासेजहरू झूटा भएका नेपाल टेलिकमले जनाएको छ।
केही दिनयता नेपाल टेलिकमको लोगोसहित म्यासेन्जरलगायतमा ५ हजार रुपैयाँसम्मको उपहार तथा नगद पाइने भन्दै म्यासेज आउन थालेपछि टेलिकमले यसप्रति चासो देखाएर यसको खण्डन गरेको हो।
यस्ता गलत सूचना प्रवाह भइरहेको भन्दै सचेत रहन टेलिकमले सबैमा अनुरोध गरेको हो।
‘कम्पनीको आधिकारिक ब्लु टिकसहितको फेसबुक र एक्सलगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवाबारे अद्यावधिक हुन सम्पूर्ण ग्राहकवर्गमा अनुरोध छ,’ प्रवक्ता हरि ढकालले भनेका छन्।


