नयाँदिल्ली- भारतीय संसद् भवन परिसरमा सत्तारुढ र विपक्षी र गठबन्धनबीच झडप भएको छ। झडपमा परी भारतीय जनता पार्टी (भाजपा) का सांसद प्रतापचन्द्र सारङ्गी र मुकेश राजपुतलाई चोट लागेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सांसदसारङ्गी र राजपुतलाई फोन गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
भारतीय राष्ट्रिय काङ्ग्रेसका नेता राहुल गान्धीले भाजपा सांसदहरूले आफूलाई संसदमा प्रवेश गर्नबाट रोकेको र धकेलेको आरोप लगाएका छन्।
काङ्ग्रेसले सत्तारूढ पार्टीका सांसदले धकेल्दा आफ्ना अध्यक्ष मल्लिकार्जुन खड्गेलाई खुट्टामा चोट लागेको बताएको छ।
भाजपा नेता तथा संघीय सरकारका गृहमन्त्री अमित शाहले बाबासाहेब अम्बेडकरविरुद्ध गरेको अपमानजनक टिप्पणी गरेको बिषयमा सत्तारूढ दल र विपक्षी दलका नेताबीच विवाद चर्किँदा संसद् परिसरमा समेत झडप भएको हो।
भारतीय जनता पार्टी (भाजपा) का सांसद सारङ्गीले कांग्रेस नेता राहुल गान्धीको धक्काले आफू घाइते भएको दावी गरेका छन्।
सारङ्गीले आफू सिँढीमा उभिरहेको बेला विपक्षी नेताहरूको धकेलाधकेलमा सांसदहरू आफूमाथि लडेको र यसबाट आफ्नो टाउकोमा चोट लागेको बताएका छन्।
‘गान्धीले संसद्मा प्रवेश गर्ने क्रममा एक जना सांसदलाई धक्का दिनुभयो उहाँ ममाथि परेपछि म ढलेँ,’ उनले भने।
घटनापश्चात भाजपा सांसदलाई एम्बुलेन्समा राखेर उपचारका लागि लगिएको थियो। दुवै सांसदलाई दिल्लीको राममनोहर लोहिया अस्पतालमा भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अजय शुक्लाले बताए।
दुवैजनाको टाउकोमा चोट लागेकाले आईसीयूमा भर्ना गरिएको छ।
‘अस्पतालमा ल्याईउँदा सांसद् सारङ्गीलाई गहिरो चोट लागेको र अत्यधिक रक्तस्राव भइरहेको थियो, अहिले उहाँको उपचार सुरू गरिएको छ। परीक्षणहरू पनि भइरहेका छन्,’ शुक्लाले अगाडि थपे, ‘राजपुत बेहोस भएपछि ल्याइएको र अहिले उहाँ होशमा हुनुहुन्छ तर चिन्तित देखिनुहुन्छ।’
काङ्ग्रेस नेता राहुल गान्धीले घटनामा आफ्नो बचाउ गरेका छन्।
‘म संसदभित्र पस्ने कोसिस गरिरहेको थिएँ, मलाई भाजपा सांसदहरूले धकेले र अवरोध गर्दै धम्की दिए,’ उनले भने, ‘उनीहरूले काङ्ग्रेस प्रमुख मल्लिकार्जुन खड़्गेलाई पनि धकेले। यो तपाईंको क्यामेरामा हुन सक्छ। हामीलाई झट्काले असर गर्दैन। यो प्रवेशद्वार हो र हामीलाई भित्र जाने अधिकार छ।’
कांग्रेस सांसद केसी वेणुगोपालले भारतीय जनता पार्टी (भाजपा) का सांसदहरूले कांग्रेस नेताहरूलाई संसद्मा प्रवेश गर्नबाट रोकेको आरोप लगाए।
‘लज्जाजनक घटना भएको छ। भाजपाका सांसदहरूले कांग्रेसका अध्यक्ष तथा आदरणीय नेतालाई धक्का दिए भने लोकसभाका विपक्षी नेतालाई पनि सदनमा प्रवेश गर्नबाट रोकियो र धकेलियो,’ उनले भने, ‘भाजपाका यी सांसदहरू वातावरण बिगार्न र संसदको गरिमा घटाउनका लागि स्पष्ट रूपमा जिम्मेवार थिए।’
भाजपा नेता तथा संघीय सरकारका गृहमन्त्री अमित शाहले बाबासाहेब अम्बेडकरविरुद्ध गरेको अपमानजनक टिप्पणीको जवाफदेहिताबाट उनीहरूलाई कुनै पनि नाटक वा छलकपटले बचाउन नसक्ने बताए।
भारतीय जनता पार्टी (भाजपा) ले गान्धी र अन्य सांसदहरूविरुद्ध भाजपा सांसदहरूविरुद्ध शारीरिक हिंसाको आरोप लगाउँदै उजुरी दर्ता गर्ने बताएको छ।


