काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि शनिबार जारी खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा पूरा ओभर खेल्दै १८४ रन बनाएको हो।
सुदूरपश्चिमका साइफ जाइबले ४३ बल फाल्दै ८ चौका र २ छक्काको मद्दतमा ६९ रन बनाए। विनोद भण्डारीले ४१ रन बनाएका थिए। अन्य खेलाडीले उल्लेख्य योगदान गर्न सकेनन्।
बलिङतर्फ किशोर महतो र मोहम्मद मोहसिनले समान ३-३ विकेट लिएका थिए। यस्तै जेम्स नीशम र ललित राजवंशीले एकएक विकेट लिएका थिए।
क्वालिफायरमा पुगेका दुवै टोलीबीच भएको खेलमा जनकपुरमाथि जित निकाल्दै सुदूरपश्चिम फाइनलमा आइपुगेको थियो। तर अर्को पनि क्वालिफायर खेल्ने मौका पाएको जनकपुरले कर्णालीलाई पराजित गरेपछि फाइनल पुगेको हो।
उपाधि भिडन्तअगाडि सुदूरपश्चिम र जनकपुरबीच दुईपटक प्रतिस्पर्धा भएको थियो। दुवै खेलमा सुदूरपश्चिम विजयी भएको थियो। सुदूरपश्चिमले जारी एनपिएलमा मात्र १ खेलमा पराजय भोगेको छ।
खेल सुरु हुनु अघि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघिका नतिजा हेरेर नखेल्ने र सजिलो प्रतिद्वन्द्वीका रूपमा जनकपुरलाई नलिने बताएका छन्। साथै उनले जनकपुर पनि बलियो रहेको र राम्रो योजना बनाएर खेल्ने बताए।
जनकपुरका कप्तान आसिफ शेखले फाइनलमा बदला लिनेभन्दा पनि आफूसँग भएको उत्कृष्ट प्रदर्शन दिने विश्वास व्यक्त गरेका थिए। उनले पछिल्ला खेलमा राम्रो ब्याटिङ गर्न नसके पनि फाइनलमा राम्रो खेल्ने आशा व्यक्त गरेका छन।
फाइनल खेल हेर्न बिहानैदेखि काठमाडौँको कीर्तिपुरस्थित त्रिवि मैदानमा दर्शकको घुइँचो लागिरहेको छ। फाइनलका लागि बिहीबार नै सबै टिकट बिक्री भइसकेका छन्। टिकट लिएका र नलिएका दुवै खाले दर्शक मैदानबाहिर भने ठूलो संख्यामा पुगेका छन्। दर्शक आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्न आफ्नो टोलीको झण्डा/ब्यानरसहित छन्।
सुरक्षाका लागि खेल स्थलमा बिहानैदेखि सुरक्षाकर्मी खटिएका छन्। दर्शकको बाक्लो उपस्थितिका कारण त्रिवि मैदानबाहिर धुलाम्य भएको छ।
जनकपुरको टिममा आशिफ शेख छन्। सुदूरपश्चिममा उनका दाजु आरिफ शेख छन्।
पहिलोपटक भइरहेको एनपीएल फाइनल दाजुभाइको भिडन्त हुन लागेकाले केही समर्थकले यसलाई दाजुभाइको महाभिडन्त भनेका छन्।


