काठमाडौँ- नेपाल टेलिकमले रोमिङ महसुल चार गुणा घटाएको छ। टेलिकमले भारत र थाइल्यान्डमा आफ्नो मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल उल्लेख्य मात्रामा घटाएको हो। अन्तर्राष्टिय दूरसञ्चार दिवसको अवसर पारेर आजदेखि टेलिकमले रोमिङ महसुल घटाएको टेलिकमले जनाएको छ।
नयाँ दरअनुसार नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा अब प्रतिमिनेट सात रुपैयाँ मात्रै शुल्क लाग्नेछ। नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि अब प्रतिमिनेट सात रुपैयाँ नै लाग्नेछ। एसएमएस गर्दा पनि प्रतिएसएमएस सात रुपैयाँ नै लाग्नेछ।
यसअघि रोमिङ सेवा लिएर भारतको कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ, अन्य नम्बरबाट आएको कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ र एसएमएस गर्दा प्रति एसएमएस २४ रुपैयाँ लाग्ने गरेको थियो।
थाइल्यान्डमा नेपाल टेलिकमको सिमबाट थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा अब प्रतिमिनेट ५० रुपैयाँ लाग्ने भएको छ। यसअघि यस्तो सेवा लिंदा प्रतिमिनेट १३५ रुपैयाँ लाग्ने गरेको थियो।
थाइल्याण्डमा नेपाल टेलिकमको सिममा आएको कल उठाउँमा प्रतिमिनेट ९० रुपैयाँ लाग्दै आएकोमा अब प्रतिमिनेट २५ रुपैयाँ लाग्ने भएको छ। थाइल्यान्डमा नेपाल टेलिकमको सिमबाट एसएमएस गर्दा प्रति एसएमएस ३४ रुपैयाँ लाग्ने गरेकोमा अब १० रुपैयाँ मात्रै लाग्ने मन्त्री शर्माको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ।
भारत र थाइल्यान्डमा नेपाल टेलिकमको सिमबाट डाटा चलाउँदा हाल प्रतिएमबी ४० रुपैयाँ लाग्दै आएकोमा अब प्रति एक सय केवीको ४९ पैसा अर्थात प्रति एमबी पाँच रुपैयाँ मात्रै लाग्नेछ।


