पोखरा- विद्यार्थीहरूमा सैद्धान्तिकका साथ व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले पोखराको मदरल्यान्ड माध्यमिक विद्यालयमा क्याप्टेन छनोट गर्न निर्वाचनको अभ्यास गरिएको छ। स्कुल क्याप्टेन छान्नका लागि विद्यालयमा सोमबार र मंगलबार मतदान कार्यक्रम सम्पन्न भएको थियो।
नेपालमा प्रचलित निर्वाचन प्रणालीबारेमा विद्यार्थीहरूलाई ज्ञान दिने लक्ष्य राखेर सामाजिक अध्ययन विभागले आयोजना गरेको कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थी मतदाता थिए। यसका साथै उनीहरूबाटै उमेदवारको मनोनयनसमेत गरिएको थियो।
विद्यालय तहमा क्याप्टेन छान्न गराइएको यो पहिलो अभ्यास भएको विभागीय प्रमुख गुरुदत्त दवाडीले दाबी गरे। करिब १० दिन अघिदेखि यस तयारीमा लागेर मतदाता नामावली, मतपत्र, विद्यार्थीको कक्षागत र स्कुल क्याप्टेनको उम्मेदवारको तयारी साथै उनीहरूको परिचयपत्र निर्माण गरिएको थियो। निर्वाचन अभियानमार्फत उम्मेदवारले मत माग्दै कक्षागत रूपमा प्रचारप्रसार गरेका थिए।
नेपालमा प्रचलित निर्वाचन प्रणालीबारेमा विद्यार्थीहरूलाई ज्ञान दिने लक्ष्य राखेर सामाजिक अध्ययन विभागले आयोजना गरेको कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थी मतदाता थिए। यसका साथै उनीहरूबाटै उमेदवारको मनोनयनसमेत गरिएको थियो।
कार्यक्रममा विद्यालयका निर्देशक त्रिभुवन शर्मा, १०+२ का इन्चार्ज नारायण आचार्य, प्रदेश निर्वाचन कार्यलयका सूचना अधिकारी रुद्र न्यौपानेलगायत उपस्थित थिए। विद्यार्थीहरूलाई निर्वाचन तथा प्रतिनिधि छानिएर जाने यो प्रक्रियाको जानकारी तथा अभ्यास विद्यालय तहमा यसरी गराइनु उत्तम अभ्यास भएको उनीहरूको भनाइ छ।
विद्यार्थी सङ्ख्याको ठूलो मात्रालाई मध्यनजर गरी दुई दिनसम्म चलेको निर्वाचन प्रणालीमा अघिल्लो दिन सोमबार कक्षा सातदेखि दससम्मका विद्यार्थीहरूले मतदान गरेका थिए भने पछिल्लो दिन मङ्गलबार कक्षा चारदेखि छसम्मका विद्यार्थीहरूले मतदान गरेका थिए। यसका साथै निर्वाचनका लागि आवश्यकीय सामग्री मपपेटिका, स्वस्तिक छाप, गोप्य मतदान बार आदि प्रदेश निर्वाचन आयोगको कार्यालयबाट प्राविधिक सहयोगको रूपमा ल्याइएको थियो।

निर्वाचन सम्पन्न गराउने कर्मचारीको भूमिकामा खटिएका विद्यार्थी।
सामाजिक विभागका सदस्य सुनील सुवाल प्रमुख निर्वाचन आयुक्त र विभागीय प्रमुख गुरुदत्त दवाडी प्रमुख पर्यवेक्षकका रूपमा रहेको निर्वाचन कार्यक्रममा प्रमुख अतिथि प्रदेश निर्वाचन आयोग, गण्डकी प्रदेशका प्रमुख निर्वाचन अधिकारी हुमनाथ पराजुलीले कार्यक्रमको उद्घाटन गरेका थिए। नेपालमा हुने निर्वाचन प्रणालीका बारेमा विद्यार्थीहरूलाई जानकारी गराउँदै विद्यालयले गर्न लागेको निर्वाचन प्रणालीको अभ्यासको उनले प्रशंसा गरे।
पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत विद्यार्थीहरूले कक्षा क्याप्टेनलाई मतदान गरेका थिए भने समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत तहगत स्कुल क्याप्टेनलाई सम्पूर्ण विद्यार्थीहरूले समानुपातिकको मतपत्रको फरकफरक चिह्नमा मतदान गरेका थिए। मतगणनाको अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ।



