काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छन्। गत मंसिर २२ गते युरोप प्रस्थान गरेकी परराष्ट्रमन्त्री राणा त्यहाँबाट भारत पुगेकी थिइन्।
युरोप र नयाँदिल्लीको तीन साता लामो यात्रा सकेर उनी सोमबार साँझ काठमाडौँमा अवतरण गरेकी हुन्।
पुस ४ गते जर्मनीको बर्लिनबाट देउवा नयाँ दिल्ली गएकी थिइन्। परराष्ट्रमन्त्री राणाले अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा नेपालका प्रतिनिधित्वका लागि त्यसतर्फ गएकी थिइन्। मन्त्री राणाले सुरुमा नेदरल्याण्ड र त्यसपछि जर्मनीको भ्रमण गरेकी थिइन्।
नेदरल्यान्डसबाट बेल्जियम, जर्मनी, लग्जम्बर्गको भ्रमणपछि चार दिनअघि नयाँदिल्ली पुगेकी उनलाई भारतमा भने कसैले पनि राजनीतिक भेट दिएनन्।
भारतीय नेताहरूसँग भेट गर्ने दाउमा रहेकी राणा असफल भएपछि नेपाल फर्किएकी हुन्। आइतबार एक दिन होटलमा आराम गरेर मन्त्री राणा काठमाडौँ फर्किएकी दिल्ली दूतावासस्थित एक अधिकारीले जानकारी दिए।
