हरिवन– सर्लाहीमा ट्याक्टरको पछाडि स्कुटर ठोक्किँदा नगर प्रहरीमा कार्यरत युवकको मृत्यु भएको छ।
सोमबार राति ११ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने हरिवन-९ नोचामा भएको दुर्घटनामा हरिवन नगरपालिकामा नगर प्रहरीमा कार्यरत हरिवन नगरपालिका-८ का २५ वर्षीय कवि रिखाम मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जानकारी दिएको छ।
राति ११ बजे इन्दुशंकर चिनी उद्योग हरिवनमा उखु पुर्याएर पश्चिमतर्फ जाँदै गरेकाे ना ६ त ३०५० नम्बरको ट्याक्टरमा बागमती प्रदेश ०२-०२८ प ६५०८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका मगरको उपचारको क्रममा बाराको न्यूरो अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा स्कुटरमा सवार हरिवन-८ कै करिब ४० वर्षीय रामजी बस्नेतको न्युरोमै उपचार भइरहेको छ।
दुर्घटनापछि ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
यस्तै, नगर प्रहरी जवान मगरको मृत्युको शोकमा हरिवन नगरपालिकाले आज (मंगलबार) हरिवनमा शोक बिदा दिएको छ।
नगर प्रमुख रमेश बुढाथोकीले विज्ञप्ति जारी गर्दै मंगलबार नगरपालिका मातहतका सम्पूर्ण कार्यालय र शैक्षिक संस्थाहरुमा शोक बिदा दिइएको जानकारी दिएका हुन्।



