बाँके–नेपालगञ्ज उपमहानगरभित्र विभिन्न रोगविरुद्धको खोप लगाउन छुटेका र बीचैमा खोप लगाउन छाडेका बालबालिकालाई खोप लगाउन थालिएको छ। ‘खोज र खोप’ अभियान सञ्चालन गरेर नियमित खोप लगाउन थालिएको हो।
उक्त अभियानअन्तर्गत नेपालगञ्जमा एक सय ९० जनालाई समेटिएको छ। नेपालगञ्ज उपमहानगर स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजन शाहीले खोप लगाउन छुटेका बालबालिकालाई नियमित खोपमा समेट्ने बताए। उनले भने, ‘नेपालगञ्जमा प्रत्येक महिनाको ६ देखि ११ सम्म नियमित खोप लगाइन्छ। खोप लगाउन छुटेका बालबालिकाको खोजी अभियान पनि सँगसँगै अघि बढाएका छौं।’
जनस्वास्थ्य निरीक्षक शाहीका अनुसार बीचैमा खोप लगाउन छाडेका २९४ मध्ये १३९ बालबालिकालाई खोप लगाइएको छ। अझै १५५ बालबालिकालाई खोप लगाउन बाँकी छ। नेपालगञ्जमा यसअघि गत १५ वैशाखमा बालबालिकालाई खोप लगाइएको थियो। ‘खोज र खोप’ अभियान सञ्चालनका क्रममा नेपालगञ्जमा ६९२ बालबालिकाले बीचैमा खोप लगाउन छाडेको पाइएको थियो।
‘१७७ बालबालिकाले कुनै पनि खोप नलगाएको पाइएको थियो’, शाहीले भने, ‘घरधुरी सर्वेक्षण गरेर बीचैमा खोप लगाउन छाडेका, खोप नै नलगाएकाको तथ्यांक संकलन गर्ने काम भइरहेको छ।’



