काठमाडौँ- काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन प्रहरीले राय दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसहित ४४ जनामाथि मुद्दा चलाउन प्रहरी सिफारिस प्रहरीले गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई हस्तान्तरण गरेको छ। जाहेरी परेको १० महिनापछि प्रहरीले बल्ल यो प्रकरणमा अनुसन्धान थालेको हो। यसअघिको सरकारमा हालका एक जना अभियुक्त लामिछाने नै गृहमन्त्री बनेपछि प्रहरीले उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाउन सकेको थिएन।
आरोपितहरूको बयान तथा सोधपुछ, सहकारीसम्बन्धी कागजातको अनुसन्धान, कार्यालयमा भेटिएका तथा नक्कली ऋण बनाएर अपचलन गरेका विषयहरूलगायत अध्ययन गरेर अनुसन्धान प्रतिवेदन बुझाएको काठमाडौँ प्रहरीले जानकारी दिएको छ।
स्वर्णलक्ष्मीमा पक्राउ पुर्जी जारी भएका ४४ जनालाई पहिलो चरणमा प्रतिवादी बनाउनुपर्ने प्रहरीले राय दिएको छ। पछि थप खुलेमा पूरक अभियोजन लैजाने सक्ने गरी प्रतिवेदन बुझाइएको छ। यो सहकारीबाट १ अर्ब १९ करोड रुपैयाँ अपचलन भएको प्रहरी अनुसन्धानको भनाइ छ। सोही रकमलाई बिगो बिगो मान्दै मुद्दा चलाउन प्रहरीको राय छ।
स्वर्णलक्ष्मी सहकारीबाट १६ भन्दा बढी कम्पनीमा २३ करोड ३७ लाख ११ हजार ३२० रुपैयाँ रकम ट्रान्सफर गरिएको अडिट रिपोर्टबाट खुलेको छ। जीबी (गीतेन्द्रबाबु) राईको हर्बो इन्टरनेसनल प्रालिमा १० करोड २७ लाख ९४ हजार ५२२ रुपैयाँ गएको छ।
यस्तै जीबीकै जीबी ग्रुप अफ कम्पनी प्रालि १ करोड ६९ लाख १ हजार ४२ रुपैयाँ, कुमकुम हर्बल इन्डस्ट्रिज प्रालिमा १३ लाख ११ हजार ४४८ रुपैयाँ, देवदीप एग्रिकल्चर एन्ड एनिमल हस्बेन्डरी फार्ममा ३ करोड ७८ लाख ७ हजार ९३६ रुपैयाँ रकम ट्रान्सफर गरेर अपचलन गरिएको भेटिएको छ। सहकारीले सेयर सदस्यबाहेक कुनै पनि व्यक्ति वा कम्पनीलाई ऋण प्रवाह गर्ने व्यवस्था छैन। तर गैरकानुनी रूपमा प्रवाह भएको ऋण चुक्ता नभएपछि सहकारीका बचतकर्ताले राखेको रकम फिर्ता पाएका छैनन्।
उता पोखराको सूर्यदर्शन सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति लामिछानेलगायतविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। उक्त मुद्दामा यतिबेला सरकारी पक्षले थुनछेक बहस सकेका छन् भने रवि लामिछानेले बहसका लागि १५ वकिललाई तयार पारेका छन्। यो सहकारी ठगीका मुद्दामा मुख्य आरोपी जीबी पनि फरार छन्।


