काठमाडौँ- नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर तेस्रो देश पुनर्स्थापना गराइदिने भन्दै ठगी गरेको आरोपमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्।
मियाँलाई बिहीबार सिंहदरबारबाट प्रहरीले पक्राउ गरेको हो। हज समितिको कार्यवाहकको जिम्मेवारी अर्का व्यक्तिलाई दिने तयारी गरिररहेका बेला बिहान प्रहरीले ऊर्जा मन्त्रालय नजिकबाट मियाँलाई पक्राउ गरेको हो।
उनलाई काठमाडौं प्रहरी परिसर लगिएको छ। हज समितिको गाडी नक्कली शरणार्थी बनाउने क्रममा प्रयोग भएको आरोपमा अनुसन्धान गर्न मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ। नक्कली शरणार्थी बन्न चाहने नयाँ मानिसको खोजी गर्न हज समितिको गाडी प्रयोग गर्ने र गिरोहको योजनाअनुसार थप काम गर्ने काममा मियाँको संलग्नता रहेको आरोप छ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापाले २०७७ माघ ७ मा मियाँलाई समितिमा नियुक्त गरेका थिए। थापापछि गृहमन्त्री बनेका खाणले मियाँको कार्यकाल २ वर्ष थपेका थिए। विगतमा जुन दलको सरकार बन्छ, सोही दलका नेता कार्यकर्तालाई हज समितिमा नियुक्ति गर्ने अभ्यास रहेपनि मियाँ भने अपवाद बनेको बताइन्छ।
प्रहरीको अनुसन्धानको क्रममा उनको पोल खुलेपछि मियाँ सम्पर्कविहीन भएका थिए। बिहीबार कार्यवाहक जिम्मेवारी अर्कै व्यक्तिलाई दिने गरी तयारी अगाडि बढेपछि उनी पक्राउ परेका हुन्।
यसप्रकरणमा हालसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १४ जना पक्राउ परिसकेका छन्।
