काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्यान्टोनमेन्टमा घोटाला भएको प्रमाणित भए आफू जेल जान तयार रहेको बताएका छन्। प्रतिनिधि सभा बैठकमा सांसद ज्ञानेन्द्र शाहीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
‘२०४८ देखिका सबै मुद्दाहरूमा छानबिन गर्न म तयार छु। सबै चिज छानबिन गर्न सकिन्छ। भ्रष्टाचारको उन्मुक्तिको युग सुरु गर्न सकिन्छ। यो प्रकरणमा कसैले दिएको उजुरीकै आधारमा छानबिन हुँदा दोषी देखिए म आफैँ जेल जान तयार छु,’ उनले भने।
पूर्वलडाकुलाई वितरण गरिएको अरबौँ रकममा भ्रष्टाचार भएको कुरा आरोपका लागि आरोप मात्र भएको उनको दाबी छ। ‘त्यसको रेकर्ड अन्मिनमा रहेको जानकारी गराउन चाहन्छु। गिरिजा र रामशरणले समेत रुजु गरिएको छ,’ उनले भने।
त्यसबेला नै टुंगिएको विषयलाई अहिले आएर राजनीतिक पूर्वाग्रहका रूपमा उठाइएकाले आफूलाई आश्चर्य लागेको उनको भनाइ थियो।
