काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकको विषयमा अबको एक महिनाभित्रमा नै टुंगो लाग्ने बताएका छन्। प्रतिनिधिसभामा जनता समाजवादी पार्टीका सांसद दीपक कार्कीले सोधको महिनामा नागरिकताको विवादका विषयमा प्रश्नको उत्तर दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।
‘अहिले संकल्प प्रस्ताव मार्फत् नगारिकता विधेयकमा विषयमा राष्ट्रपतिलाई अनुरोध गर्ने बाटो हुन सक्छ। त्यसलाई राखेर गरेर अर्को विधेयक ल्याउने भन्ने पनि बाटो त छ। त्यो मत सदन भित्र र बाहिर दुवैतिर छन्। यस विषयमा म के ठान्छु भने एक महिनाभित्रै यो विषयको टुंगो लाग्छ,’ उनले भने।
‘नागरिकता विधेयक पहिलो पटक राष्ट्रपतिबाट फिर्ता पठाएइको थियो। अहिले दोस्रो पटक न त्यसलाई खारेज गुर्नभयो न केही गर्नुभयो। प्रमाणीकरण गर्नुपर्ने बाध्यता थियो त राष्ट्रपति कार्यालयले होल्डमा राखेको छ। त्यसको पोजिसन के हुने भन्ने छ,’ उनले भने।
तत्कालीन राष्ट्रपतिले हाल्डमा राखेको विधेयकलाई प्रमाणिकरण गर्ने विषयमा संविधानविद् र कानुनविद्सँग छलफल जारी रहेको उनको भनाइ छ। ‘यसै विषयमा हामीले न्यायाधीशहरुसँग, बार एसोसिएसनका प्रतिनिधिसँग छलफल गरेका थियौँ। उहाँहरुले त्यो विधेयकलाई राष्ट्रपतिले प्रमाणिकरण गर्ने केहीबाधा छैन भन्नुभएको थियो,’ उनले भने, ‘त्यो सुझावको आधारमा मैले राष्ट्रपतिलाई जानकारी पनि दिएको छु। उहाँले पनि केही संविधानविद्, कानुनविद्सँग छलफल गर्ने भन्नुभएको छ। सायद उहाँले अध्ययन गरिरहनु भएको छ। छलफल गरिरहनु भएको छ।’


