काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक इन्च पनि भूमि अरु देशलाई नछोड्न बताएका छन्। सांसद दिलेन्द्र बडूले सोधेको प्रश्नको जवाफ पेस गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।
‘नेपाल आफ्नो एक इन्च भूमि पनि अरुलाई नदिने नलिने सिद्धान्तमा अडिग छ। हित अभिवृद्धिरहनेमा कायम रहेको छ,’ उनले भने, ‘नेपालको पराराष्ट्र नीति, संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्न पराराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा आधारित रहेको जानकारी नै छ।’
देशको सर्वोपरि हितलाई ध्यानमा राखी सबै मित्रराष्ट्रसँगै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, पारस्परिक सम्मान र लाभका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार गर्न नेपालको परराष्ट्रनीतिलाई अघि बढाउने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
‘सीमाबारे सबै समस्या कूटनीतिक तवरले समाधान गर्नेछौँ। घनिष्ठ सम्बन्ध कायम गर्नेछौँ,’ उनले भने, ‘नेपाल-भारत सम्बन्धका विविध पक्षलाई पुनरवलोकन गरी समसामयिक बनाउने काममा कूटनीतिक पहलहरु जारी रहेको जानकारी गराउनु चाहन्छु।’


