सन् २०२४ कै अन्त्यमा अमेरिकी ३९ औं राष्ट्रपति जिम्मी कार्टर सय वर्षको उमेरमा निधन भयो। उनको निधनपछि नेपालमा पनि उनीबारे प्रतिक्रिया व्यक्त भइरहेका छन्।
दूरदृष्टि, करुणा, र अटुट समर्पणले भरिपूर्ण राष्ट्रपति कार्टरले एक नेता, राजनेता, र मानवतावादीका रूपमा अमिट छाप छोडेका राष्ट्रपति कार्टरको नेपाल भ्रमणले पनि नेपालको लोकतान्त्रिक यात्रामा थोरबहुत योगदान पुर्याएको छ।
उनको विख्यात व्यक्तित्व र शान्ति स्थापनाका लागि दिएको योगदानलाई नजरअन्दाज गर्न मिल्दैन। अझै भन्नुपर्दा नेपालको १० वर्षे माओवादी हिंसाबाट विच्छेद गर्न उनले पुर्याएको योगदान सदा स्मरणीय रहनेछ।
नेपालका सर्न्दभमा तत्कालीन विद्रोही माओवादी पहिलो निर्वाचनमा नराम्रोसँग पराजित भएको भए निर्वाचन परिणाम अस्वीकार गरी पुनः द्वन्द्वमा फर्किने सम्भावना पनि त्यत्तिकै थियो।
चुनावबाट अप्रत्याशित मत पाएपछि माओवादी शान्ति प्रक्रियामा रहन र आफूलाई संसदीय प्रजातान्त्रिक दलमा समाहित गर्न बाध्य भएको हो।
जे जस्तो अवस्थामा भए पनि सात दल र माओवादीबीच सन् २००५ मा भारतको नयाँ दिल्लीमा १२ बुँदे सहमतिपश्चात् नेपालमा ०६२,०६३ को आन्दोलन भएको हो।
दल र माओवादीबीच कतिपय असहमतिबीच पनि आन्दोलन सम्पन्न भयो।
२०६३ साल वैशाख ११ नेपालको राजतन्त्र सदाका लागि अन्त्य हुन पुग्यो। आन्दोलनको सफलतापश्चात् तत्कालीन सात दल र माओवादीबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर हुनपुग्यो।
त्यतिबेला माओवादी र तत्कालीन सात राजनीतिक दलहरूबीच ठूलो संशय थियो। दुवै पक्षबीच एकअर्कामा अविश्वास र संशयको समस्या कायम थियो।
विभिन्न आरोह अवरोहबीच २ पटकसम्म तिथि तय भए पनि संविधान सभाको निर्वाचन हुन सकिरहेको थिएन। विश्वासको संकट मडारिएको अवस्थामा माओवादी र संसदीय दल दुवैभित्र विश्वास गर्ने पात्रको खोजी भित्रभित्रै भइरहेको थियो।
त्यसो त अमेरिकाको नाम सुन्नेबित्तिकै माओवादी कार्यकर्तामा आवेग र आक्रोश छचल्किन्थ्यो। उनीहरूलाई त्यसरी नै नेतृत्वले स्कुलिङ गरेको थियो। त्यतिवेलाका नेपालस्थित अमेरिकी राजदूत मोरियार्टीलाई एक सार्वजनिक कार्यक्रममा उनीहरूले जुत्ता नै प्रहार गरेका थिए। संविधान सभाको चुनाव नै हुन्छ वा हुँदैन भन्ने संशयको वातावरण थियो।
कार्टर सेन्टरका नेपालस्थित प्रतिनिधिहरूले मौकाको सदुपयोग गर्दै समवन्य गरिरहेका थिए। दिवंगत पूर्वमाननीय दुमन थापाका अनुसार यहाँको रिेपोर्टिङलाई मनन गरेरै जिम्मी कार्टर चुनावको निश्चय गराउन नेपाल आउन चाहन्थे। त्यो काम नेपाल सरकारको समवन्यमा रहेर कार्टर सेन्टरले गरिरहेको थियो। त्यसैले उनले अमेरिकाबाट सर्म्पक गरेर बारम्बार दुवै पक्षलाई शान्ति प्रक्रिया र विस्तृत शान्ति सम्झौतामा गरेका प्रतिबद्धतामा अडिग रहन सचेत गराइरहेका थिए।
माओवादी नेतृत्वले पनि कार्टरले दिएका सल्लाह, सुझाव इमानदारीपूर्वक मान्ने गरेका थिए। भलै कार्यकर्तामा उन्माद व्याप्त थियो।
एकअर्कामा अविश्वास बढिरहेको थियो, कतिसम्म भने माओवादी नेतृ पम्फा भूसालका राजनीतिक गुरूका पिता पूर्वकम्युनिष्ट नेता खुबीराम आचार्यको ०८४ औं जन्मजयन्ती मनाउन कपिलवस्तु आएका बेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई रक्तचन्दन तस्करका नाइकेका संरक्षक रहेको आरोप प्रचण्डले नै लगाएका थिए।
त्यसको प्रतिउत्तरमा प्रम कोइरालाले पनि प्रचण्डका मान्छेबाट तस्करी भइरहेको र नियन्त्रण गर्न खोज्दा आफूमाथि आरोप लगाएको जवाफ फर्काउन बाध्य भएका थिए।
त्यसैबीच ०६३ भदौ ३० मा कपिलवस्तुका मुस्लिम समुदायबीच प्रभावशाली नेता अब्दुल मोइद खाँको हत्या भएको थियो। हत्या कसले किन गर्यो भन्नेबारे राज्यले अहिलेसम्म यकिन गर्न सकेको छैन।
हत्यापश्चात् कपिलवस्तुदेखि नेपालगञ्जसम्मको शान्ति सुव्यवस्था खलबलिएको थियो। सयौँ सवारीसाधन जलाउनुका साथै १६ जनाको दोहोरो झडपमा मृत्यु भएको थियो। तरार्इ मधेशमा समाजिक सद्भाव खलबलिएको अवस्था थियो।
संवेदनशील अवस्थामा माओवादी र संसदीय दल दुवैले सुन्ने पात्र थिए, जिम्मी कार्टर। त्यसैले उनले बारम्बार दुवै पक्षलाई शान्ति प्रक्रिया र विस्तृत शान्ति सम्झौतामा गरेका प्रतिबद्धतामा अडिक रहन कार्टरले सचेत गराइरहे। कार्टरले दिएका सल्लाह, सुझाव भने उग्र माओवादीले इमानदारीपूर्वक मान्ने गरेका थिए।
सात दलले पूर्वराष्ट्रपतिको सुझाव नमान्नुपर्ने कुनै कारण नै थिएन। सन् २००८ को संविधानसभाको पहिलो निर्वाचनका लागि उनको मध्यथताले सञ्जिवनी बुटीको काम गर्यो।
माओवादी र सात दलका आ-आफ्नै अडानका बीचमा मिश्रित निर्वाचन प्रणालीमा सहमति जुटेको थियो। नेपालमा २०६४ साल चैत्र २८ गते संविधान सभाको पहिलो निर्वाचन सम्पन्न भयो। शंका र उपशंकाबीच निर्वाचन सम्पन्न भएको थियो। त्यसो त माओवादी आतंकको त्रासबीच नै निर्वाचन सम्पन्न भएको थियो।
सोझासीधा नेपालीलाई त्रास देखाई आतंकित गराएर आफ्ना पक्षमा मत खस्ने वातावरण बनाएर माओवादीहरूले निर्वाचन जितेका थिए। त्यसमाथि तरार्इ मधेशमा हतियारधारी भूमिगत समूहको बिगबिगी उस्तै थियो।
त्यही समयमा यो स्तम्भकार केही वर्षको राजधानीको पत्रकारिताको अनुभवसहित कान्तिपुर संवाददाताका रूपमा गृह जिल्ला कपिलवस्तु फर्किएको थियो। तत्कालीन माओवादीको भय एवं त्रास, मधेशमा भूमिगत समूहको बिगबिगी र राजनीतिक दलहरूको निरीहतालाई नजिकबाट मूल्यांकन गरिरहेको थिएँ।
कपिलवस्तुमा ०६४ भाद्र ३० मा भएको मोइद खाँ हत्या काण्डपछि कपिलवस्तुको शान्ति सुरक्षाको संवेदनशीलतालाई केन्द्रले समेत नजिकबाट नियालिरहेको थियो। जिम्मेवार पत्रकारको रूपमा कलम बडो संवेदनशील अवस्थामा उच्च सतर्कतासाथ चलाउनुपरेको थियो।
निर्वाचनका दिन हुनसक्ने सम्भावित जोखिमलाई लिएर कान्तिपुरको भरतपुरस्थित क्षेत्रिय ब्युरो प्रमुखले सदरमुकामबाट बाहिर नजान निर्देशन गरेका थिए। पहिलो संविधानसभाको अनुभव सँगालिरहेको पत्रकारका हैसियतमा मलाई त्यो त्यो निर्देशन मान्य भएन। पूर्ववत् तयारीअनुसार फिल्ड रिपोर्टिङमा निस्किएँ।
त्यसदिनका लागि निर्वाचन स्थलगत अवलोकन र अनुगमनका लागि प्रशासनले पत्रकारलाई पास वितरण गरेको थिए। मैले पनि पास लिएको थिएँ, मसँग सवारीसाधन नभएकाले एक विश्वस्त साथीको मोटरसाइकलको नम्बरमा पास लिएको थिएँ। त्यसबेला ७७ गाविस र १ नगरपालिका रहेको कपिलवस्तुमा ५ निर्वाचन क्षेत्र थिए।
ती सबै स्थानमा पुग्न सम्भव नरहे पनि केही स्थानमा पुग्ने तालिका बनाएको थिएँ। सदरमुकाम तौलिहवाबाट पूर्वपश्चिम राजमार्ग आउन २१ किमिको दूरी तय गर्नुपर्थ्यो। २१ किमिको यात्रा निर्वाचन पर्यवेक्षक टोलीको सवारीसाधनमा आएर पास लिएको मोटरबाइक (साथी) सँगको यात्रा शुरू गरेको थिएँ। सबैभन्दा पहिला आफ्नै गृहक्षेत्र तत्कालीन मोतीपुर गाविसका मतदानस्थल पुगेको थिएँ।
महेन्द्र राजमार्गदेखि उत्तरी क्षेत्रका मतदानस्थल पुग्दा एमाले बाहुल्य क्षेत्र रहे पनि माओवादीहरूको रवाफमा निर्वाचन भइरहको थियो। भलै निर्वाचन देख्नलाई शान्तिपूर्ण अवस्थामा थियो। तर गाउँलेहरूलाई घरघरमा माओवादीहरूको ‘रेकी’ थियो, भोट माओवादीलाई हाल्नुपर्छ भन्नेसम्मका उर्दी कायम नै थियो। मोतीपुर, ७ स्थित जननी प्राविमा रहेको मतदानस्थल पुग्दाको दृश्य आफैमा रोचक थियो। माओवादीले ३ बजेपछि राजमार्गदेखि भित्रका बुथमा कब्जा गर्ने रणनीति बनाएका रहेछन्।
एक माओवादी कार्यकर्ताले बडो रवाफी शैलीमा सुनाए। उक्त बुथ अवलोकनपश्चात् आफ्नो मतदानस्थल पुग्ने योजनामा रहेको म मत नहाल्ने स्वःनिर्णय गरेर जंगल किनारमा रहेको मोतीपुर, ८ र ९ वडाको मतादनस्थल उदयपुर प्राविमा पुगेँ।
त्यहाँ पुग्दा माओवादी युवाहरूसँगै मजाककै शैलीमा भनेँ- चुनाव यति शान्त हुने रहेछ, अनावश्यक हल्ला मात्र गरेर धन्नै रोकिएको। जननी प्राविमा ३ बजेपछि बुथ कब्जाको रणनीतिबारे बुझ्न म त्यहाँ गएको थिएँ। त्यहाँ पनि ती कार्यकर्ताहरूले फुस्काइहाले- ३ बजेसम्म एमाले, कांग्रेसले हालून्, त्यसपछि हामीले यिनीहरूलाई ठेगान लगाएर बाँकी मत हाल्छौं।’ अर्थात् ३ बजेपछि उनीहरूको योजना बुथ कब्जा गर्ने थियो।
मैले आफूले पाएको सूचना जाँच गर्नु थियो। एक किसिमले सूचनामा म विश्वस्त भएँ। आफ्नो मतदानस्थल पुगे पनि मैले मत हालिनँ। किनकि मैले त्यहाँ मत हालेँ भने त्यसको मूल्य मैले चुकाउनुपर्छ भन्ने महसुस गरेँ।
पाएको सूचनाबारे रिपोर्टिङ गरेपछि माओवादीहरूले मलाई कुनै अमूक दलको पत्रकार भनेर प्रमाणित गर्नेछन्। आइपर्ने चनौतीलाई ध्यान दिएर मतदान नगरी महेन्द्र राजमार्गमा रहेको मोतीपुरकै बनगार्इ बुथमा पुगे। त्यहाँ मोतीपुरका अन्य ३ मतदानस्थलको तुलनामा भयमुक्त अवस्थामा मतदान भइरहको थियो। समय करिब १२ बजेको थियो। कान्तिपुर टीभीमा निर्वाचनको प्रत्यक्ष प्रशारण थियो। बनगार्इस्थित मतदानस्थल पुग्दा जानकारी गराइएको थियो, अपडेटका लागि तयार रहनू।
टीभीमा कार्यरत मित्र सुदर्शन ओली केही दिनअघि मात्र कपिलवस्तुको स्थलगत रिपोर्टिङ गरेर फर्किएका थिए। जिल्लामा रहँदा रेडियो र टीभीमा पनि पत्रिकाकै संवाददाताले समाचार कभर गर्नुपर्थ्यो। एकछिनपछि फेरि उतैबाट कल आयो, त्यसो त ओली टीभीका स्थलगत कभरका लागि आउँदा सदरमुकाम तौलिहवाका अतिरिक्त चन्द्रौटा, कृष्णानगर सम्मको रिपोर्टिङ सँगै गरेका थियौं। त्यसबखत पनि तौलिहवा निवासी एक पाण्डेय थरका मधेशवादी दलका कार्यकर्तामाथि हुलाकी मार्गमा गोली चलेको थियो। भलै उनी बाँचेका थिए।
त्यसैले होला टीभी लाइभमा पहिलो प्रश्न नै कपिलवस्तुको समग्र अवस्था के छ ? भन्ने थयो। शान्तिपूर्ण अवस्थामा भइरहेको जानकारी गराएँ। दोस्रो प्रश्न थियो- भारतीय सीमा नजिकका क्षेत्रमा मतदाताको सहभागिता कस्तो छ ? मैले शान्तिपूर्ण अवस्थामा भइरहेको छ, भनेँ। माओवादीले राजमार्गदेखि १ किमिभित्रका जिल्लाका बुथहरूमा ३ बजेपछि कब्जा गर्ने रणनीति बनाएको बताएँ।
तेस्रो प्रश्नको जवाफमा, अन्य जानकारीसहित अब म यहाँबाट करिब ३० किमि दूरीमा रहेको माओवादी नेता विप्लव (नेत्र विक्रम चन्द को गृहक्षेत्र) शिवगढी भगवानपुरतर्फ जाँदैछु भनिदिएँ। जहाँ विप्लव र उनका दाजु वीरजंग चन्द (जो क्षेत्र १ का माओवादी उम्मेद्वार) ले मतदान गरेको स्थल पनि हो।
उक्त रिपोर्टिङपछि बाइक राइडर साथीलाई अब शिवगढी जाऊँ भनेँ अनि लागेँ। जिल्लामा अरू पत्रकारसँग नलाग्नुको कारण कोही प्रेस युनियन,चौतारी र माओवादी निकट सेन्टर का सदस्यहरू मात्र थिए। कुनै दलको भ्रातृसंगठनमा आवद्ध नभएको म मात्र थिएँ, त्यसैले एक्लै रिपोर्टिङमा निस्किएको थिएँ।
गोरुसिंगे पग्दै गर्दा माओवादीका एक पत्रकारले ‘दाइ तपार्इंलाई कसले दियो यस्तो सूचना, त्यसको जवाफ चाहिन्छ’ भन्न थाले। मैले भेटमा दिउँला भनिदिएँ,त्यसैगरी अन्य कल पनि आइरहे। मिस गर्दै यात्रा गरिरहेँ। बाटामा रहेका केही बुथको स्थलगत अवलोकन गर्दै शिवगढी विप्लव र वीरजंगले मतदान गरेको स्थल पुगेँ।
त्यहाँ पहिले पनि पुगेको थिएँ। जहाँ अन्तरिम विधायक उमा विककी सासू आमाको अवस्थाबारे जान्न। विधायक विकका पति र देवर माओवादी द्धन्दका बखत सेनाद्वारा मारिएका थिए। दुवै छोरा गुमाएकी आमाले बुहारी सासंद भएको अनुभव व्यक्त गर्दाको अवस्था आफैमा कारुणिक थियो। अहिले जस्तो युट्युबको जमाना थिएन, भैदिएको भए ती आमाको चेतना र सन्देशका शब्दहरू भाइरल हुने थिए।
विधायक विककी नन्दसँग त्यसबखत चिनजान भएको थियो। दुवै सन्तान गुमाएकी एकल आमाकी एकल बुहारी अन्तरिम सांसद भनेर कान्तिपुरमा त्यस अगावै रिपोर्टिङ गरेको थिएँ। उक्त रिपोर्टिङलाई जिल्लास्थित सेनाका अधिकारीले सन्तुलित र कारूणिक रिपोर्टिङ भन्ने फिडब्याक दिएका थिए। त्यसैले पनि त्यस दिन उक्त क्षेत्र पुग्न आँट गरेको थिएँ। त्यहाँ पुग्दा करिब १ बजेको थियो। मतदानस्थलमा कब्जाकै अवस्थामा मतदान भइरहेको थियो।
उमेर नै नपुगेका बालबालिका लाइनमा थिए। एमाले र कांग्रेसका बुथ प्रतिनिधि मतदानस्थलबाट निकालिएका थिए। उनीहरूलाई नजिकै एक घरमा बन्दक बनाएर राखिएको थियो। निर्वाचनमा दलीय प्रतिनिधिहरू ब्याच गोजीमा थन्काई बसेका थिए। लामबद्ध बालबालिका देखाएर खै त तपार्इंहरूले तिनीहरूको मतदाता सूचीमा नाम रहेको/नरहेको चेकजाँच गरेको भन्दा इसाराले हामी बोल्न सक्दैनौं भन्ने जवाफ दिएका थिए।
त्यसपछि मसँग रहेको सोनीको १० मेगा पिस्कलको क्यामराले निर्वाचन आयोगको ब्याच छातीमा टाँस्न लगाएर उनीहरूको तस्बिर लिए। त्यसपछि लामबद्ध बालकालिकाको तस्बिर लिए। कसले कुन नामबाट मतदान गरेका थिए, त्यो रेजा लगाएको मतदाता सूचीको जानकारीसँगै तस्बिर लिए। त्यस बुथमा निर्वाचन अधिकृत रहेका कृषि विकास बैकमा कार्यरत बाबुराम भण्डारीको पनि तस्बिर लिए। साथै उनीसँग केही जिज्ञासा राख्दा उनले जे देख्नुभएको छ, यही हो सत्य, अरू हामीले केही भन्न मिल्दैन भन्ने जवाफ दिए।
मेरो स्थलगत उपस्थिति र गतिविधिले त्यहाँको माहोलमा सनसनी उत्पन्न गरायो। मलाई एक किसिमको घेराबन्दी गरियो, यो तस्बिर के गर्ने भनियो। मैले निर्धक्कसँग म पत्रकार, मैले पत्रकारिताका लागि युज गर्ने भनिदिएँ। त्यसले उनीहरूमा झनै शंका उत्पन्न गरायो। त्यहीबीच उनै विधायक उमाकी नन्द देखा परिन्, उनले मलाई देख्नेबित्तिकै ‘ए उहाँ त हामीलाई सहयोग गर्ने पत्रकार हो। हाम्री भाउज्यू र आमाका बारेमा कान्तिपुरमा कति राम्ररी लेखदिनुभएको थियो, तस्बिरसहित’ भनिदिइन्। त्यसले अन्य अवरोधको सामना गर्नुपरेन।
त्यहाँ वर कतै पहिले नै चिनेका सशस्त्र प्रहरीका (भूसाल थरका) हवल्दार भेटिए। पत्रकार आएको छ भन्ने हल्ला भएको छ। को रहेछ भनेर आएको त सर हुनुहुँदो रहेछ भन्दै हात मिलाए। मैले त्यहाँको व्यवहार र दृश्यबारे जानकारी गराएँ। उनले भने,’ केही चिन्ता लिनु पर्दैन, ढुक्कसँग जानुहोस् भने। मैले कुनै असहज महसुस गरेको थिइनँ, तर पनि विधायककी नन्द र उनको जवाफले म निर्धक्क भएँ। मैले टीभीमा गरेको रिपोर्टिङको उनीहरूलाई कुनै जानकारी नै थिएन।
त्यहाँबाट निस्कने बेलामा मतदानस्थलनजिकै विप्लव घरमै रहेको जानकारी आयो। बाइक राइडर साथीसँग त्यहाँ गए। बार्दली छानो भएको घरमा माथि विप्लव बसिरहेका रहेछन्। आँगनमा हरियो रङको हाइलेक्स गाडी रातो नम्बर प्लेटको थियो।
त्यहाँ उपस्थित मानिससँग अनुमति लिएर त्यो गाडीको पनि तस्बिर लिएँ। विप्लवले माथि बार्दलीबाट पत्रकारको हैसियतमा आथित्य भाव दर्शाए, जिल्लामा चुनाव कस्तो शैलीमा भइरहेको छ भनेर सोधे। मैले अहिलेसम्म शान्तिपूर्ण भन्ने जवाफ दिएँ। एकैछिनको बसाइपछि हामी त्यहाँबाट बिदा भयौं। त्यहाँबाट फर्किएर चन्द्रौटा बजार आयौं। सुनसान थियो, फेरि जुन बाटो गएका थियौं त्यही बाटो भएर चार नम्बर जीततपुर फर्कियौँ।
बाइक राइडर साथीले त्यहीँसम्म छाड्ने सहमति थियो। त्यस दिनका लागि मैले बाइकमा आफैँ तेल भरेर यात्रा गरेको थिएँ।
त्यतिञ्जेल फेरि दिउँसो रिपोर्टिङलाई लिएर केही फोन आइरहे। चार नम्बरमा भेटिए तत्कालीन पत्रकार महासंघका अध्यक्ष भेषराज पाण्डे। उनले तपार्इंले के रिपोर्टिङ गर्नुभएको हो र ? माओवादीहरूले मसँग जवाफ मागिरहेका थिए भने। त्यसो त उनी कुनै संस्थाको ज्याकेट लगाएर निर्वाचन पर्यवेक्षकका रूपमा उपस्थित थिए। मैले उनलाई एकान्त लगेर क्यामराका तस्बिरहरू देखाएँ। यही दृश्यलाई मैले रिपोर्टिङ गरेको हुँ, तपार्इंलाई महासंघको अध्यक्ष हैसियतामा यी तस्बिर देखाएको हुँ भनिदिएँ। कसैले जवाफ मागे मसँग पठाइदिनू भनेर म बिदा भएँ।
अर्का एक पत्रकारलाई आफू चार नम्बर जीतपुर आएको जानकारी गराउन कल गरेँ। तर उनले कल उठाएनन् तर संयोगवश उनी त्यहीँ भेटिए। उनले पनि मेरो रिपोर्टिङबारे जानकारी पाएको बताए, अस्पष्ट भाषामा।
ती सबै फिडब्याकले म ढुक्क थिएँ। मैले गरेको रिपोर्टिङले जिल्लामा हुनसक्ने सम्भावित भय (कब्जा) टारिदिएको रहेछ। मलाई तौलिहवा पुग्नु थियो २१ किमि दूरी। मसँग त्यतिवेला साधन उपलब्ध थिएन। प्रहरीसँग जान मन लागेन, किनकि दिउँसो रिपोर्टिङबाट निहुँ खोजेका माओवादीहरूले त्यतिवेलासम्म लगाउन नसकेको दाग प्रहरीको पत्रकार भन्न सक्ने सम्भावनाबाट बच्नु थियो। युरोपियन युनियनका स्थानीय पर्यवेक्षकको गाडी भेटियो, लिःफ्ट मागे हुन्छ भन्ने जवाफ पाएपछि मुकाम तौलिहवा पुगेँ। जहाँ मेरो जिल्ला आउँदाको निवास रहन्थ्यो।
त्यतिवेला अहिले जस्तो इन्टरनेट सहजै उपलब्ध थिएन। अग्रज पत्रकार मनोज पौडेलको निवासबाट काम चलाउँथे। करिब ६ बजेतिर पटकको प्रयासपछि जिल्लाको निर्वाचन छिटफुट घटनाबाहेक शान्तिपूर्ण रहेको रिपोर्टिङ पठाए। साथै शिवगढी बुथमा बालबालिका लामबद्ध देखिएको बुथ कब्जा भएको विस्तृत विवरण सहितको जानकारी उल्लेख गरेर क्याप्सन सहितको तस्बिरहरू पत्रिकाका लागि पठाएँ। कान्तिपुरस्थित काठमाडौँ कार्यालयमा रहेका जिल्ला ब्युरो प्रमुख रघुनाथ लामिछानेलाई पनि जानकारी गराएँ।
पत्रिकामा समाचार र तस्बिर पठाएलगत्तै साढे ६ बजेको न्युजका लागि कान्तिपुर रेडियोबाट अलर्ट कल आयो। रेडियोमा समेत लाइभ अपडेट जारी थियो। निर्वाचन आयोगका अनुसार केही छिटफुटका घटनाबाहेक संविधान सभाको निर्वाचन शान्तिपूर्ण सम्पन्न भयो भन्ने उक्त अपडेटको मेन न्युज आयो। निर्वाचन पर्यवेक्षणमा रहेका कार्टरले पनि संविधानसभाको निर्वाचन स्वतन्त्र र निष्पक्ष’ भनेको अभिव्यक्ति सहितको समाचार बज्यो।
कार्टरको भनाइले स्थलगत तस्बिरसहित रिपोर्टिङ गरेको (पत्रकार) मलाई नमीठो अनुभूत भयो। भोलिपल्ट मेरा तस्बिर पत्रिकामा आउला नआउला भन्ने जिज्ञासा भैरह्यो? किनकि उनका (कार्टर) भनाइले मेरो मिहिनेत निरर्थक होला भन्ने थियो। अन्य च्यानलहरूमा समाचार हेर्दा पूर्वी तराई मधेशका जिल्लाहरूमा पनि बुथ कब्जा भएका समाचार आइरहे।
उपेन्द्र यादवको निर्वाचन क्षेत्रमा पनि बुथ कब्जा भएको समाचार आइरह्यो। गोरखामा बाबुराम भट्टराइको क्षेत्रमा समेत बुथ कब्जा भएको समाचार कभर गर्ने कान्तिपुर संवाददाता दामोदर न्यौपानेलाई माओवादीले हातपात गरेको समाचार आयो। पत्रकारका रूपमा समाचार अपडेट लिनु स्वाभाविक थियो।
जिल्लामा केही दलीय पत्रकारले मेरो निर्भीक रिपोर्टिङको ईर्ष्या गरेर भित्रभित्रै माओवादीहरूलाई उकासिरहेका थिए। माओवादीका पत्रकारले वाइसिएलबाट समेत धम्की दिलाएका थिए। तर म विचलित भइनँ। मलाई भोलिको पत्रिकामा मेरो रिपोर्टिङ र तस्बिर आउँछ आउँदैन भन्ने जिज्ञासा भइरह्यो।
जिल्लास्थित सुरक्षा निकायलाई समेत रिपोर्टिङ र प्रतिक्रियाबारे जानकारी गराएको थिएँ। सुरक्षा निकायले प्रमाण सुरक्षित राख्न सुझाव गरेको थियो। त्यसैअनुसार सुरक्षित राखे। जिल्लाको निर्वाचनमा भएका चलखेल, बुथबाट बाकस उठाउँदा बुथ अधिकृतलाई अलग गरिएका र मुझुल्का मिल्काइएका जानकारी पनि आयो। उहाँहरूको विश्वासलाई सुरक्षा निकायसमक्ष जानकारी गराउनु त्यस रात मेरो कर्तव्य बनिरह्यो। जानकारी मौन राख्नु बुद्धिमता थियो। निर्वाचन कसरी सम्पन्न भयो भन्ने दृश्यहरू मानसपटलमा नाचिरहे।
भोलिपल्ट बिहानै काठमाडौँमा फोन सर्म्पक गरेर कपिलवस्तुको समाचार र तस्बिर रहे वा नरहेको जानकारी लिएँ। समाचारका अंश रहे पनि तस्बिर नरहेको जानकारी पाएँ। कार्टरको अभिव्यक्तिपछि फिल्डबाट जे अनुमान गरेको थिएँ, त्यही नै भयो। मलाई लागिरह्यो, यदि त्यसै दिन कार्टरले निर्वाचन शान्तिपूर्ण भनेर अभिव्यक्ति (प्रेस विज्ञप्ति) सार्वजनिक नगरिदिएको भए शायद मेरो त्यो तस्बिरले स्थान पाउने थियो कि ? भन्ने जिज्ञासाले मलाई अहिले पनि पिरोल्छ।
पत्रकारिताको भाषामा त्यसदिनका ती बुथ कब्जाको प्रमाणसहित तस्बिर आफैमा स्कुप थिए। दुर्भाग्य कार्टरसहित सबैले निर्वाचन सम्पन्न भइनसक्दै दिएको शान्तिपूर्ण भन्ने प्रतिक्रियाले ‘डेथ बडी’ सावित भइदिए। अर्को पेनड्राइभमा सुरक्षित संग्रह गरिएका ती तस्बिर काठमाडौँको बसाइँमा कोठा सर्दा हराए। केवल मानस्पटलमा मात्र सुरक्षित छन्।
त्यसो त कपिलवस्तुमा त्यस दिन टीभीमा गरेको स्थलगत रिपोर्टिङले माओवादीले अपेक्षा गरेका २ सिट नै गुम्न पुगेको मेरो विश्वास छ।
माओवादी अन्तरिम विधायक क्षेत्र नं १ का उम्मेद्धवार रामलौटन तिवारी करिब साढे ५ सय मतले हारेका थिए। कांग्रेसले देशभर हार्दाहार्दै पनि तत्कालीन क्षेत्र नं ३ मा १ सय ९७ मतले दीपकुमार उपाध्याय विजयी भएका थिए। उपाध्याय विजयी हुँदा विप्लवका दाजु वीरजंगले पराजयको सामना गर्नुपरेको थियो। एक सुरक्षा अधिकारीका अनुसार त्यसदिन कान्तिपुर टीभीमा जिल्लाबाट स्थलगत रिपोर्टिङ नभइदिएको भए माओवादीले कपिलवस्तुका ५ मध्ये तीन क्षेत्र हात पार्ने सम्भावना थियो।
त्यस रिपोर्टिङले उनीहरूको योजना भताभुंग भएको थियो। कपिलवस्तुबाट अन्तरिम संसदमा २ जना प्रतिनिधि पठाएको माओवादीले ०६४ को निर्वाचनमा ५ क्षेत्र मध्ये कुनैमा पनि जित हात पार्न सकेन। भलै देशभरबाट अप्रत्याशित सफलता प्राप्त गरेको थियो। २ सय ४० प्रत्यक्षमध्ये १ सय २० स्थानमा माओवादीहरूले जित हासिल गरेका थिए।
उक्त रिपोर्टिङकै कारण म माओवादीको निशाना बन्नु स्वाभाविक थियो। साथै तत्कालीन समयमा जिल्लाबाट विस्थापित नै हुनुपरेको थियो। उक्त घटनाका साक्षी वर्तमान प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र कान्तिपुरका तत्कालीन जिल्ला ब्यूरो प्रमुख रघुनाथ लामिछाने छन्।
कान्तिपुर दैनिकमा गोरखाका संवाददाता दामोदर न्यौपानेलाई रिपोर्टिङकै कारण विस्थापित हुनु परे पनि कान्तिपुरले केन्द्रमा स्थापित गर्यो। तर मैले कान्तिपुरबाट नै बिदा पाएँ।
कान्तिपुरले ‘आठौं दल’को उपमा पाउँदा राजधानीबाटै काम गरेको अनुभवसँगै त्यस निर्वाचनपछिका नमीठा अनुभव मसँग छन्। जुन क्षण अहिले पनि स्मरण गर्दा अप्रिय लाग्छ। जुन विगत कार्टरको निधनले पुनः स्मरण गराएको छ।
भलै म वर्तमानमा जहाँ, जे छु ठीकै छु। यद्यपि कुनै गुनासो छैन।
अन्तर्राष्ट्रियस्तरको त्यत्तिको नेताले चुनाव स्वतन्त्र र निष्पक्ष भयो भनिसकेपछि सबै पक्षले चुनावको मतपरिणाम स्वीकार्नुपर्ने बाध्यता सिर्जना भएको थियो।
नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन उनको भूमिका आफैमा कोसेढुंगा सावित भएको तथ्य नर्कान सकिँदैन। तर पहिलो संविधानसभाले संविधान नबनाए पनि अर्को पक्षबाट मूल्यांकन गर्दा महत्त्वपूर्ण कदम सावित भएको थियो। त्यही जगमा दोस्रो संविधानसभाको चुनावबाट नेपालको संविधान बन्न सफल भएको तथ्य स्वीकार गर्न सक्नुपर्छ। त्यसको श्रेय केही मात्रामा भए पनि दिवांगत पूर्वअमेरिकी राष्ट्रपति कार्टरलाई पनि जान्छ।
अन्त्यमा उनीप्रति हार्दिक श्रद्धा सुमन


