काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेल्खुमा ट्रक र माइक्रो बस आपसमा ठोक्किँदा १६ जना घाइते भएका छन्।
बिहीबार दिउँसो साढे १ बजे पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख ६६६ नम्बरको माइक्रोसँग काठमाडौंबाट जाँदै गरेको ट्रक ठोक्किएको थियो। घाइतेहरूलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर ल्याइएको छ।
घाइतेहरूमा स्याङ्जाका २५ वर्षीय रविना शाह, नुवाकोट विदुरका २१ वर्षीय विवेक मिजार, धादिङको नीलकण्ठ नगरपालिका-२ बस्ने २६ वर्षीय राज गुरुङ, कास्कीको पोखरा महानगरपालिका-१४ की सुस्मिता आले, २२ महिनाकी रिहान पुन, ३३ वर्षीय खिमराज पुन छन्।
एक विदेशी नागरिकसमेत घाइते भएका छन्।
त्यस्तै अन्य घाइतेहरूमा धादिङको सिद्धलेक गाउँपालिका-६ का २४ वर्षीय यमबहादुर घले, तनहुँको शुक्ला गण्डकी गाउँपालिका- ७ का ३८ वर्षीय सुनिता आले, गोरखाको लखन गाउँपालिका-१ बस्ने २१ वर्षीय समय अर्याल, ६१ वर्षीय मधुमाया अर्याल, धादिङको बेनीघाट रोराङ गाउँपालिका-६ का ३९ वर्षीय रमेश थापा, नाम नखुलेकी २२ र १८ वर्षीया युवती, म्याग्दीको बेनी नगरपालिका-४ का ३४ वर्षीय पुरन पुन र पोखरा महानगरपालिका-१४ का ३४ वर्षीय पुष्प पुन रहेका छन्।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।


