काठमाडौँ – मकवानपुरको मनहरी गाउँपालिकामा स्कार्पियो र कार ठोक्किँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा कार चालक हेटौंडा–४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठ र चितवनको राप्ती नगरपालिका–२ गड्यौली बस्ने ५० वर्षीय सुनिता श्रेष्ठको मृत्यु भएको हो।
सुनिताको उपचार क्रममा निधन भएको प्रहरीले जनाएको छ।
शनिबार वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कार्पियो र चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी–६ मा ठोक्किएका थिए। उक्त दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।
कारलाई ठक्कर दिने स्कार्पियो चालक रौतहट घर भई पर्साको वीरगञ्ज बस्ने २० वर्षीय किशन जैसवाल फरार रहेका र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ।
दुर्घटनामा घाइते हुनेहरूमा कारमा सवार चितवन राप्ती–२ गड्यौली बस्ने ५५ वर्षीय ओमकुमार श्रेष्ठ र २१ वर्षीया सुमिना श्रेष्ठ, स्कार्पियोमा सवार पर्साको वीरगञ्ज–२ छपकैया बस्ने २६ वर्षीय पूजा देवी शाह, सोही ठाउँकी ८ वर्षीया प्रियान्सी शाह, २३ वर्षीया सुरदी देवी र २१ वर्षीया निशाकुमारी शाह रहेका छन्।
यस्तै वीरगञ्ज–२ छपकैयाका १५ वर्षीय ओम शंकर साह, १९ वर्षीय राजीवकुमार साह, १९ वर्षकी आरती कुमारी साह, ४ वर्षीया दिव्याकुमारी साह, १६ वर्षीय सरोज शर्मा र १९ वर्षीया रोशनी शर्मा पनि घाइते भएका छन।
घाइते अधिकांशको हात, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुर पठाइएको प्रहरीले जनाएको छ।


