काठमाडौँ – सिराहाको नरहा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखापाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले ६/६ महिना कैद सुनाएको छ।
औषधि खरिदमा ६ महिनाअघि दायर मुद्दामा विशेषले आज दोषी ठहर हुने फैसला सुनाएको हो।
विशेषले प्रमुख प्रशासकीय अधिकृत भुवेशकुमार झा र लेखापाल सुरेशकुमार कुसियैतलाई जनही ६/६ महिना कैद सजाय सुनाएको हो। उनीहरूलाई ६ लाख २० हजार रुपैयाँ बिगो रकम दामासाही जरिवानासमेत सुनाइएको छ।
विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो। आर्थिक वर्ष ०७४/७५ मा गाउँ कार्यपालिकाको बैठकबाट निर्णय भई खरिद भएको ५७ प्रकारका औषधिजन्य मालसामानमा अनियमितता भएको उजुरी परेको थियो।
यी मालसामानको नियमविपरीत भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदनबिना नै आपूर्तिकर्ताले पेस गरेको बिलबमोजिमकै भुक्तानी गरिएको थियो। यस विषयमा अनुसन्धान गरी अख्तियारले यसै वर्ष २५ असारमा दुवैजनामाथि मुद्दा चलाएको थियो।
यस प्रकरणमा कुल २२ लाख ६१ हजार रुपैयाँभन्दा बढीको औषधि खरिदको भुक्तानी भएको, तर १६ हजार ४१ लाखबराबरको औषधि मात्र वितरण भएको देखिएको थियो। बाँकी औषधि कहाँ रहेको भनी खुलाउन नसकेको तथा स्टोरमा पनि नभेटिएको विशेषले राय किताबमा उल्लेख गरेको छ।
अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रअनुसार आब २०७४/०७५ मा गाउँपालिकाले नियोमेड इन्टरनेशनलसँग खरिद गरेका ५७ किसिमका औषधिको कानुनविपरीत भुक्तानी आदेश दिएकोमा प्रमुख प्रशासकीय अधिकृत झा र लेखापाल कुसियैतलाई कसुरदार देखाइएको थियो।
खरिद गरिएका औषधि जिन्सी दाखिला प्रतिवेदनविनै आपूर्तिकर्ताले पेश गरेको बिलअनुसार भुक्तानी आदेश दिएको अनुसन्धानबाट खुलेको थियो।


