काठमाडौँ- मन्त्रिपरिषदको बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्। बैठक ४ बजेका लागि बोलाइएको छ।
संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सकिने व्यवस्था छ।
संघीय संसद् सचिवालयका अनुसार राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि ६ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्नेछन्। सोही बैठकमा सभामुख देवराज घिमिरेले धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
संसद् सचिवालयका अनुसार राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमममाथि ७ देखि ९ जेठसम्म राष्ट्रिय सभामा छलफल हुनेछ। छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्रीले ९ जेठमा जवाफ दिने कार्यक्रम तय भएको छ।


