काठमाडौँ- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो देश पुनर्स्थापना गरिदिने प्रलोभन देखाएर करोडौँ रकम ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ। यो प्रकरणमा प्रहरीले जतिजति अनुसन्धानको गहिराई पुग्छ उतिउति नयाँ आरोपित पक्राउ पर्ने क्रम जारी छ। नयाँ आरोपितहरू पक्राउ पर्ने क्रम जारी रहेकाले यो प्रकरणमा अनुसन्धान फाइल बुझाउन प्रहरी हतारोमा छ।
नक्कली शरणार्थी प्रकरणमा २०७९ जेठमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको थियो। तर यो प्रकरणमा तत्काल कार्यालयले अनुसन्धान गरेन। यद्यपि यो प्रकरणमा अनुसन्धान भइरहेको कार्यालयले दाबी गर्दै आएको थियो।
पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेकै दिन र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गरेकै दिनको भोलिपल्ट प्रहरीले बयान लिएको थियो। उच्च पदस्थहरूलाई चाँडै उन्मुक्त दिनका लागि अनुसन्धान छोटो बनाइएको भन्दै सार्वजनिक रूपमा टिप्पणी भएपनि प्रहरीले म्याद अभावका कारण छिटोछिटो बयान लिइरहेको परिसरका प्रवक्ता सीताराम रिजालले बताए।
यो प्रकरणमा चैत १२ गते केशव दुलाल, सानु भण्डारी र टंककुमार गुरूङ पक्राउ परेपछि अनुसन्धान सुरु भएको हो। प्रहरीले यो विषयमा संगठित रुपमा नै अपराध भएको भन्दै अनुसन्धान अघि बढाएको छ। संगठित अपराधमा पक्राउ परेका व्यक्तिलाई बढीमा ६० दिन मात्र प्रहरीले हिरासतमा राख्न पाउँछ।
‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि संगठित अपराधको अनुसन्धाका लागि त्यस्तो अपराधको आरोप लागेको व्यक्तिलाई अनुसन्धानको प्रगतिको आधारमा अदालतको अनुमति लिई पटकपटक गरी साठी दिनसम्म हिरासतमा राख्न सकिनेछ,’ संगठित अपराध निवारण ऐन, २०७० को दफा १४ मा उल्लेख छ।
यो प्रकरणमा पहिलो पटक पक्राउ परेका मितिले अब ६० दिन पुग्न ५ दिन मात्रै बाँकी छ। मुद्दाको पठाउनुपर्ने दिन नजिकिएकाले प्रहरी हतारमा छ। सबै आरोपितहरूलाई पक्राउ गर्न नसकिएपनि उनीहरूलाई फरार रहेको अवस्था उल्लेख गरेर मुद्दाको फाइल सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरिएको जिल्ला प्रहरी परिसर टेकुले जानकारी दिएको छ।
यो प्रकरणमा चैत १२ गते केशव दुलाल, सानु भण्डारी र टंककुमार गुरूङ पक्राउ परेपछि अनुसन्धान सुरु भएको हो। प्रहरीले यो विषयमा संगठित रुपमा नै अपराध भएको भन्दै अनुसन्धान अघि बढाएको छ। संगठित अपराधमा पक्राउ परेका व्यक्तिलाई बढीमा ६० दिन मात्र प्रहरीले हिरासतमा राख्न पाउँछ।
बिहीबार मात्रै प्रहरीले यस प्रकरणमा दुई जनालाई पक्राउ गरेको थियो। हज समितिका अध्यक्ष शमशेर मियाँलाई ऊर्जा मन्त्रालय परिसरबाट पक्राउ गरेको थियो भने भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि काठमाडौँबाटै पक्राउ परेका थिए। यी दुई जनाबाहेक पक्राउ परेका अन्यको बयान सकिएको छ। यो प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ।
२०७९ चैत १२ गते सानु भण्डारी, केशव दुलाल र टंक राई पक्राउ परेका थिए। चैत १५ गते सागर राई पक्राउ परे। चैत २९ गते सन्देश शर्मा पक्राउ परेका छन्। यी पाँचै जना बिचौलिया भएको प्रहरीले जानकारी दिएको छ।
वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परे। त्यसको भोलिपल्ट वैशाख २० गते नेपाल सरकारका गृहसचिव टेकनारायण पाण्डे र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका थिए। वैशाख २६ गते रामशरण केसी र गोविन्द चौधरी पक्राउ परे। वैशाख २७ गते पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका थिए।
यसैगरी वैशाख ३१ गते पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परे। जेठ ३१ गते कांग्रेसले संविधान सभा सदस्य बनाएका आङटावा पक्राउ परे। जेठ ४ गते भूटानी शरणार्थी तथा मानवअधिकारवादी नेता टेकनाथ रिजाल र हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका थिए।
पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक र बादलका सुरक्षाविज्ञ इन्द्रजित राईका छोरा निरजसहित केही आरोपितहरू फरार रहेको प्रहरीले जानकारी दिएको छ।
अनुसन्धान प्रतिवेदन बुझाउनुपर्ने सीमा सकिन लागे पनि कहिले प्रतिवेदन तयार गरी बुझाउने भन्नेमा प्रहरीले यकिनका साथ भन्न सकेको छैन। यद्यपि यो प्रकरणमा पहिलो पटक पक्राउ गरिएको मिति चैत १२ को साठी दिन नकटाउने काठमाडौँ प्रहरीको भनाइ छ। सरकारी वकिलको कार्यालयले पनि अनुसन्धान फाइल माग गरिरहेकाले यो प्रकरणमा प्रहरी हतारमा छ। पक्राउ पर्ने क्रम जारी रहे र पहिलो चरणमा अनुसन्धान पूरा नभए दोस्रो चरणमा अनुसन्धान फाइल पेस गर्ने विषयमा पनि प्रहरीमा छलफल भइरहेको छ।
यो प्रकरणमा नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउन सरकारी प्रतिवेदन नै हेरफेर गर्नका लागि राज्य संयन्त्रको दुरुपयोग मात्र गरिएको छैन, सरकारी कागजात समेत कीर्ते गरिएको छ। यो विषयमा पनि प्रहरीले मुद्दा चलाउने तयारी गरिरहेको छ। यद्यपि प्रहरी अनुसन्धानकै क्रममा रहेकाले अहिल्यै यकिनका साथ भन्न नसकिने प्रहरीको भनाइ छ।


