विराटनगर- प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गर्ने एमालेका पूर्वसांसद पनि कारबाहीमा परेका छन्। कोशी प्रदेशसभाका पूर्वसांसदसमेत रहेका एमाले नेता विमल कार्कीलाई ६ महिनाका लागि निलम्बन गरिएको हो।
एमाले कोशी प्रदेशका सल्लाहकारसमेत रहेका कार्कीलाई ६ महिनाका लागि निलम्बन गरिएको एमाले कोशी प्रदेशका सचिव राजकुमार भण्डारीले जानकारी दिए।
‘स्टाटस पनि निरन्तर लेख्नुभयो, अरु पनि कारण थिए,’ उनले भने, ‘केही दिनअघि प्रदेश कमिटी सचिवालयले ६ महिना निलम्बन गर्ने निर्णय गरेको थियो। प्रदेश कमिटी बैठकले अनुमोदन गर्यो।’ पुस २७ र २८ मा एमाले कोशी प्रदेश कमिटी बैठक बसेको थियो।
कार्की एमाले राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य हुन्। प्रदेश कमिटी बैठकले थप ३ जना प्रदेश कमिटी सदस्यलाई पनि स्पष्टीकरण सोधेको छ। स्पष्टीकरण सोधिएका नेताहरुको नाम भने सार्वजनिक गरिएको छैन।
मंसिर १६ गते कार्कीलाई स्पष्टीकरण सोधिउको थियो। कार्की २०७४ को प्रदेश सभा निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर १ को १ बाट प्रदेश सांसद निर्वाचित भएका थिए।
मीनबहादुर गुरूङले एमालेको पार्टी कार्यालय बनाउन जग्गा दिने र भवन बनाइदिने विषयको आलोचना गरेपछि नेता भीम रावल पार्टीबाट निष्कासनमा परेका थिए। नेतृ विन्दा पाण्डे र उषाकिरण तिम्सिना पनि ६ महिनाका लागि निलम्बनमा परेका थिए।


