पोखरा- पोखराको पर्यटकीय गन्तव्य डेभिड फल्स अर्थात् पाताले छाँगो बन्द गरिएको छ।
पोखरा महानगरपालिकाले प्रहरीको रोहवरमा मङलबार प्रवेशद्वारमा ताला लगाएको हो। आफैले छाँगो सञ्चालन गर्ने गरी पातले छाँगोको प्रवेशद्वार महानगरपालिकाले शिलबन्दी गरेको छ।
महालेखापरीक्षकको कार्यालयले राजस्व संकलनसम्बन्धी सम्पूर्ण कार्य महानगरपालिकाले गर्नुपर्ने निर्देशनात्मक आदेश दिएपछि छाँगो आफैँले सञ्चालन गर्न लागेको महानगरले जनाएको छ।
पोखरा महानगरपालिका र छोरेपाटन माध्यमिम बिद्यालयबीच यसअघि गरिएको सम्झौता कार्यान्वयन नगरिएको अवस्थामा पातले छागोको सञ्चालन र व्यवस्थापनको जिम्मा पोखरा महानगरपालिकाको तर्फबाट गरिने जानकारी सहितको सूचनामा उल्लेख गरिएको छ।
महानगरपालिकाले पातले छाँगोको सञ्चालन र व्यवस्थापनमा कुनै अवरोध नगर्न सबैलाई अनुरोध गर्दै, राजस्व संकलन र संरचनागत व्यवस्थापनमा थप सुधार गर्ने प्रतिबद्धता जनाएको छ।
यता छाँगो २०३४ सालदेखि छोरेपाटन माविले व्यवस्थापन र सञ्चालन गर्दै आइरहेको छ। महानरपालिकाले विभिन्न संरचना निर्माणसमेत गर्ने गरी निजी कम्पनीलाई भाडामा दिने सम्झौता गरेको हुँदा विद्यालय सञ्चालनको आम्दानी टुट्ने भन्दै स्थानीयले विरोध गरेका छन्।
स्थानीय देवराज आचार्यले डेभिस फल्सको आम्दानीबाट छोरेपाटन स्कुल चलेको बताउँदै महानगरले गलत गरेको बताए। उनले पाताले छाँगोको वार्षिक आम्दानी ४ करोड बढी भएको तर महानगरले निजी कम्पनीलाई २ करोडमा दिन लागेको भन्दै आपत्ति जनाए।
पोखरा १७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयमा करिब २५ सय बिद्यार्थी अध्यनरत रहेको बताउँदै उनीहरूको भविष्यमाथि खेलबाड गर्न नहुने पूर्वविद्यार्थी निर्दोषविक्रम पौडेलले बताए। उनले गरिब तथा जेहेन्दार विद्यार्थीहरूले पनि निःशुल्क पढ्न पाउनुपर्ने बताउँदै महानगरले लगाएको ताला खोल्नुपर्नेमा जोड दिए।
२०३४ सालदेखि पाताले छाँगोको व्यवस्थापन र सञ्चालन छोरेपाटन मावि व्यवस्थापन समितिले गर्दै आएको छ। सोही पातले छाँगोको आम्दानीबाट स्कुल चलेको छ। सय जना शिक्षकलाई तलवसँगै स्कूलको सम्पूर्ण खर्च गर्ने आयस्रोत नै पातले छाँगो रहेको बताइएको छ।
यसैबीच नेपाल विधार्थी संघ कास्कीले पालते छाँगो तालाबन्दी गर्न नहुने भन्दै छिटो भन्दा छिटो समाधान गर्न माग गरेको छ। बुधबार व्यवस्थापन समितिको कार्यकक्षमा ताला लगाएको जनाउदै संघले आफ्ना मागहरु पूरा नभए अनिश्चितकालीन आन्दोलत गर्ने समेत विज्ञप्तिमार्फत जनाएको छ।



