काठमाडौँ – नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री केपी ओलीसँग काम गर्न कुनै पनि समस्या नभएको बताएका छन्।
सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठमा बिहीबार संघीय संसदीय दलको कार्यसमितिको बैठक बोलाएका थिए। जहाँ कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले यस्तो निष्कर्ष निकालेका हुन्।
बैठकमा पार्टी पदाधिकारी, सरकारमा सहभागी मन्त्रीहरू र संसदीय दल कार्यसमितिका पदाधिकारी सहभागी थिए।
‘नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ। हाम्रा बीचमा कुनै समस्या छैन। दुई दल सम्मिलित सरकारमा कुनै बाधा, व्यवधान अफ्ठेरो छैन भन्ने हाम्रो निष्कर्ष हो,’ बैठकपछि गृहमन्त्री रमेश लेखकले भने।
बैठकमा सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिअनुसार समीकरण अगाडि लैजाने कुरामै केन्द्रित भएर काम गर्न निर्देशन दिएको उनले बताए।
नागरिकलाई बढीभन्दा बढी सेवा प्रवाह गर्ने, सुशासन कायम गर्ने र आर्थिक समृद्धिमा मुलुकलाई लैजाने गरी मन्त्रीहरूले काम गर्नुपर्ने निष्कर्ष पनि बैठकले निकालेको गृहमन्त्री लेखकले बताए।
