काठमाडौँ – तारादेवी फाउन्डेसनले यस वर्षको ‘तारादेवी सम्मान’ तीन जनालाई प्रदान गर्ने भएको छ।
संस्थाका अध्यक्ष दीपक केसीको अध्यक्षतामा बसेको बैठकले गीतकार चाँदनी शाह (मरणोपरान्त), सङ्गीतकार सिके रसाइली र गायिका तीर्थकुमारीलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरिएको फाउन्डेसनका कोषाध्यक्ष रमेश थापाले जानकारी दिए। सम्मानका साथ ताम्रपत्र, दोसल्ला र जनही २५ हजार रहेको छ।
२०७४ मा स्थापित फाउन्डेसनले यसअघि १२ स्रष्टालाई सम्मान गरिसकेको छ।
स्वर किन्नरी तारादेवीको स्मृति दिवसका दिन यही माघ ९ गते उक्त सम्मान दिइनेछ। १० वर्षको उमेरदेखि गायनमा सक्रिय तारादेवीका तीन हजार पाँच सय गीतमा स्वर र संगीत छन्।


