आइसीसी क्रिकेट विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरेका गुल्सन झा र आरिफ शेखलाई मधेश प्रदेश सरकारले सम्मान गर्ने भएको छ। लिग २ मा नेपालले शानदार जित हाँसिल गरेकोमा बधाई दिँदै मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशबाट प्रतिनिधित्व गर्ने झा र शेखलाई सम्मान गर्ने बताएका हुन्।
खेलाडी राष्ट्रका गहना भएको बताउँदै उनले मधेश प्रदेशका खेलाडी झा र शेखको खेलको यादवले प्रशंसा गरेका छन्। ‘तपाईहरुले देश र प्रदेशको सम्मान बढाउनु भएकोमा हामीलाई धेरै खुशी लागेको छ,’ उनले भनेका छन्। उनले कुशल भुर्तेल तथा भीम कार्कीको खेलको पनि प्रशंसा गरेका छन्।
मुख्यमन्त्री यादवले खेलाडीद्वय झा र शेखलाई प्रोत्साहनस्वरुप प्रदेश सरकारको तर्फबाट जनही दुई–दुई लाख नगद प्रदान गर्ने घोषणा गरेका छन्।
