काठमाडौँ – अछामका दुई किशोरीको मृत्यु भएको घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
अछामको ढकारी गाउँपालिकाबाट आइतबार साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए।
दुवैजना २० वर्षमुनिका भएका कारण प्रहरीले उनीहरूको परिचय भने खुलाएको छैन।
ढकारी-८ का १५ वर्षीया सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक वनमा शनिवार साँझ शव फेला परेको थियो। शुक्रबार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू त्यही दिनदेखि सम्पर्कविहीन थिए।
उनीहरूको शव क्षतविक्षत् अवस्थामा अलग-अलग ठाउँमा फेला परेका थिए। मृतक सरस्वती फुपू र ईशरा भदैनी नाता पर्छन्।
घटनापछि प्रहरीले तालिमप्राप्त कुकुरको प्रयोग गरेर यसबारे अनुसन्धान गरिरहेको छ।


