काठमाडौँ – खोटाङबाट काठमाडौँ आउँदै गरेको जीप ओखलढुंगामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
ना १ ज ६४२१ नम्बरको जीप ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा करिब १०० मिटर तल खसेको हो।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार बिहीबार बिहान साढे ६ बजे जीप दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।
दुर्घटनामा खोटाङको केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया मायादेवी गुरुङ, उनको छोरा २८ वर्षीय पुजन गुरुङ र बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ की ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको हो।
तीन जनाको घटनास्थलमा नै मृत्यु भएको हो। बिरामी मायालाई उपचारका लागि छोरा र बहिनीले काठमाडौँ ल्याउँदै गरेका थिए। जीपमा चालकसहित ४ जना सवार थिए।
जीप चालक २२ वर्षीय अनिल पण्डित भने फरार भएका छन्।


