धनगढी- सुदूरपश्चिम सरकारमा सहभागी हुनका लागि नागरिक उन्मुक्ति पार्टीले मन्त्री बन्ने व्यक्तिको नाम रोकेको छ। उन्मुक्तिले दुई मन्त्रालय माग गरेको तर मुख्यमन्त्रीले एक जनाको मात्र नाम माग गरेपछि तत्कालका लागि पार्टीबाट कसैलाई पनि मन्त्री बनाउन नाम सिफारिस नगरिएको उन्मुक्तिले जानकारी दिएको छ।
पार्टीका प्रवक्ता दामोदर पण्डितले सरकारमा सहभागी हुने विषयमा आफूहरू छलफलमै रहेको बताए। उन्मुक्तिका लागि भनेर मुख्यमन्त्री शाहले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खाली राखेका छन्।
उन्मुक्तिले मन्त्री बन्ने व्यक्तिको नाम नपठाए पनि मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार कांग्रेस र माओवादीबाट नाम आएकालाई मन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन्। शनिबारै कांग्रेसले पृथ्वीबहादुर सिंहलाई सरकारमा पठाउने निर्णय गरेको थियो। उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।
माओवादी केन्द्रबाट झपट साउद र रमेश धामी सरकारमा पठाइएका छन्। गीतादेवी माल राज्यन्त्री बन्ने गरी सरकारमा पठाइएकी छन्। साउद सामाजिक विकास मन्त्री र धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्दा गीतादेवी माललाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनाइने भएको छ। शनिबारै उनीहरूलाई शपथ दिलाउने प्रदेश प्रमुखको कार्यालयले तयारी गरेको छ।
२०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले नेपाली कांग्रेसका भोलिपल्टै कांग्रेसका प्रकाशबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री नियुक्त गरेका थिए। देउवाले भौतिक पूर्वाधार र शाहीले आर्थिक मामिला मन्त्रालयको जिम्मा पाएका छन्। नयाँ सरकार गठन भएको सय दिन बित्दा पनि शाहले सरकारलाई पूर्णता दिन सकेका थिएनन्।


