काठमाडौँ– बेलायती राजकुमार एडवार्ड र उनकी श्रीमती सोफियाले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। मंगलबार राष्ट्रपतिसँग भेटका लागि एडवार्ड दम्पती शीतल निवास पुगेका थिए।
नेपाल भ्रमणका लागि बेलायतका राजकुमार एडवार्ड धर्मपत्नी सोफियासहित आजै काठमाडौँ आइपुगेका हुन्। भेटमा नेपालका लागि बेलायती राजदूत रब फेन पनि सहभागी थिए।
भेटमा राजकुमार एडवार्डले ब्रिटिस गोर्खा सैनिकहरू द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण कडी भएको बताएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बेलायती सेनाका गोर्खा–ब्रिगेडका प्रमुख मेजर–जनरल जेराल्ड स्ट्रिकल्याण्डले ब्रिगेड अफ गोर्खा को सन् २०२४ को वार्षिक प्रतिवेदन पेस गरेका थिए।
राष्ट्रपति पौडेलले उक्त प्रतिवेदन प्रस्तुत गरेकामा बेलायत सरकारप्रति आभार प्रकट गरेका थिए।
‘ब्रिटिस–गोर्खा हाम्रो द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कडी हो, जनस्तरको सम्बन्धलाई थप सुदृढ गर्न पनि यसले महत्वपूर्ण योगदान पुर्याएको छ,’ राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै प्रेस सल्लाहकार किरण पोखरेलले भने।
पूर्व ब्रिटिस गोर्खाका केही जायज गुनासा सम्बोधन गर्न गठन भएको द्विपक्षीय संयन्त्रमा सकारात्मक छलफल भइरहेको विश्वास पनि राष्ट्रपति पौडेलले व्यक्त गरेका थिए।
राजकुमार एडवार्डले ब्रिटिस सेनामा भर्तीको लागि नेपालीलाई दिएको स्वीकृतिका लागि आभार प्रकट गरेका थिए। नेपाल बेलायतबीचको सुमधुर सम्बन्धमा ब्रिटीस गोर्खा सेना कोशेढुंगा रहेको उनको भनाइ थियो।
भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका थिए।
‘जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ, जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई प्रमुखताका साथ आवाज उठाउँदै आएको छ,’ राष्ट्रपति पौडेलको भनाइ थियो।
जलवायु परिवर्तको विषयप्रति ध्यानाकर्षण गराउन नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको राष्ट्रपति पौडेलले राजकुमार एडवार्डलाई जानकारी गराएका थिए।
आगामी मे १६ देखि १८ सम्म काठमाडौंमा ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयमा सगरमाथा संवाद हुन गइरहेको छ।
राष्ट्रपति पौडेलले महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण पनि स्मरण गरेका थिए।
‘नेपाल र बेलायतबीच सदियौँदेखि घनिष्ट सम्बन्ध रही आएको छ, महत्वपूर्ण विकास साझेदारसमेत रहेको बेलायतले नेपालको चौतर्फी विकासमा सहयोग पुर्याउँदै आएकोमा धन्यवाद व्यक्त गर्दछु,’ राष्ट्रपति पौडेलले भनेका थिए।
जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनिकरणमा नेपालले गरेको प्रयासकाबारे आफूले भ्रमणकै क्रममा जानकारी लिने विश्वास व्यक्त गरेका थिए।


